सप्तकोसी नदीमा पानीको बहाव पाँच लाख ३३ हजार क्युसेक
काठमाडौं । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ ।
आज बिहान ११ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर ५ लाख १० हजार ९६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा पछिल्लो मापनअनुसार ५ लाख ३३ हजार ५४० क्युसेक प्रतिसकेण्ड बहाव रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।
पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ वटै ढोका खोलिएको उनले बताए । पानीको बहाव उच्च भएपछि खतराको सङ्केत स्वरूप रातो बत्ति बाली रातो झण्डा समेत फहराइएको छ । यसैगरी कोसी ब्यारेज वरिपरी सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ ।
यसैबीच आज प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा सुरक्षाकर्मीसहित नेपाली टोली र भारतको बिहार सरकार जल संसाधन विभागको टोलीले कोसी ब्यारेजको निरीक्षण गरेको छ ।