काठमाडौं । इलाममा अविरल वर्षासँगै गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ । पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एक नारायण कोइरालाले जानकारी दिए ।
पहिरोमा परी ज्यान गुमाउनेमा माईजोगमाई गाउँपालिका-६ का २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे, ३ वर्षीया मुनुसा थेवे, माईजोगमाई-–३ का ८२ वर्षीय बर्मालल सोङमी, ७० वर्षीया बुद्धमाया सोङमी, ४६ वर्षीय धनबल सोङमी, ४२ वर्षीया सरला सोङ्मी र १४ वर्षीया प्रकृती सोङमी रहेका छन् ।
यस्तै, फाकफोकथुम गाउँपालिका-३ का २८ वर्षीय सुरेश लिम्बू, सूर्योदय नगरपालिका-१ की ६५ वर्षीया मनमाया क्षेत्री र १० वर्षीया रस्मिका क्षेत्री, इलाम नगरपालिका-६ का २३ वर्षीय समिर देउजाली, प्रवीण गुरुङ र बिराज पाख्रिन तामाङले पहिरोमा परी ज्यान गुमाएका छन् ।
यस्तै, देउमाई नगरपालिका-५ का २२ वर्षीय रोशन लिम्बू, २२ वर्षीया बेबिसा राई, ३० वर्षीय दीपक लिम्बू, २७ वर्षीया ऋषिका लिम्बू, १० वर्षीया दिपिस्का लिम्बू, देउमाई-३ का २८ वर्षीय कृष्ण मगर र माई नगरपालिका-५ की ८ वर्षीया प्रिन्सिखा मगरको ज्यान गएको छ ।
पहिरोमा परी माङसेबुङ गाउँपालिका-१ का ५७ वर्षीया कृष्णमाया लिम्बू र ५० वर्षीया माया लिम्बू, सन्दकपुर गाउँपालिका-१ का ४३ वर्षीय भीमबहादुर राई, ६६ वर्षीया हरिमाया राई, ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, ७४ वर्षीया शारदा सेढाईं र ४८ वर्षीया तारादेवी राईको ज्यान गएको छ ।
पहिरोमा विभिन्न कामले इलाम आएका जिल्लाबाहिरका नागरिकले समेत ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा झापाको अर्जुनधारा नगरपालिका-६ की ३२ वर्षीया अनु तामाङ र ३ वर्षीय आवास दनुवार, पाँचथरको फाक्तेपका ९ वर्षीय सौजन लिम्बू र ११ वर्षीय सौगात लिम्बू र मिक्लाजुङ गाउँपालिका-६ की १७ वर्षीया नेहा राई रहेका छन् । यस्तै, दोलखा घर भएका ४५ वर्षीय दीप बस्नेत, ४४ वर्षीया भवानी बस्नेत र १२ वर्षीया दिव्या बस्नेतको मृत्यु भएको छ ।
यस्तै, इलाम नगरपालिका-६ का ४८ वर्षीय महेन्द्र लिम्बू पहिरोमा बेपत्ता भएका र उनको खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक कोइरालाले बताए । क्षतिको विवरण सङ्कलन गर्ने कार्य जारी रहेको पनि उनले जानकारी दिए ।
‘सबैतिरबाट क्षतिको विवरण आउने क्रम जारी छ । सडक अवरुद्ध, विद्युत् र इन्टरनेटमा समस्याका कारण केही असहज छ, तथापि हामी लागिरहेका छौँ,’ उनले भने ।