काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पश्चिम तर्फका सडक खण्डमा सवारी साधन सञ्चालनमा ल्याइसकेको बताएका छन् । भारी वर्षा, भूस्खलन र बाढीबाट प्रभावित सडकहरूको द्रुत मर्मत गरी पश्चिमतर्फ यातायात सुचारू गरिएको उनले बताए ।
उनका अनुसार भौतिक पूर्वाधार मन्त्रालय तथा सडक विभागले यातायात यथाशीघ्र पुनः सुचारु गर्न आवश्यक सबै जनशक्ति, उपकरण र स्रोत परिचालन गरिएको छ । प्रमुख राजमार्गका अवरुद्ध खण्डहरूमा दिनरात मर्मत कार्य तीव्र रूपमा जारी राखेको र बाँकी सडकहरू पनि शीघ्र सञ्चालनमा ल्याउने उनले प्रतिबद्धता व्यक्त गरे ।
‘हिजोदेखि नै मेसिन र जनशक्ति परिचालन गरी काठमाडौंबाट पश्चिम र मुग्लिङ हुँदै पोखरा र नारायणघाटतर्फ जाने पृथ्वी राजमार्ग, नारायणघाट-मुग्लिन राजमार्गका अवरोध हटाई सवारी साधन संचालन हुन सक्ने बनाई सकिएको छ भने अवरुद्ध बीपी राजमार्ग (भकुन्डेबेसी–नेपालथोक खण्ड) र मेची राजमार्ग यथाशक्य छिटो सञ्चालनमा ल्याउने गरी अवरोध हटाउने र डाइभर्सन बनाउने काम शुरु भइसकेको छ,’ मन्त्री कुलमानले भने ।
मन्त्रालयले देशैभरका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी र स्थानीय निकायहरूसँग समन्वय गरी सडक विभाग मार्फत सडक खोल्ने तथा मर्मत कार्यलाई गति दिएको उनको भनाइ छ ।
असोज १७, १८ र १९ गतेको भारी वर्षा र जलवायु जन्य घटनाका कारण देशका विभिन्न स्थानहरूमा उत्पन्न भूस्खलन र बाढीका घटनाबाट सडकमा कटान हुने, पहिरो जाने एवं पुल बग्ने जस्ता घटना हुन गई सडक सञ्जाल र यातायात प्रभावित भएका छन् ।