शनिबारको बाढीले १० करोडको क्षति, यस्तो छ क्षतिको विवरण

काठमाडौं । शनिबार परेको भारी वर्षाले विभिन्न ठाउँमा करोडौंको क्षति भएको छ । सरकारले उपलब्ध गराएको तथ्यांक अनुसार अबिरल वर्षाले गर्दा विभिन्न क्षेत्रमा नदी कटान, डुबान तथा बाढीले नदी नियन्त्रण तर्फ करिब १५०० मिटर तटबन्ध कटान भई जम्मा १० करोड क्षति पुर्याएको अनुमान गरिएकाे हाे ।

यस्तो छ क्षतिको विवरण

- कन्काई नदीले गौरीगञ्ज २ झापामा हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्धन कटान गरी होकलबारी गाउँको करिब ११४ घर बारी डुबान भएको र ५०० हेक्टर धान खेतमा क्षति साथै झापा गाउँपालिका २ को कुवाडीमा अनुमानित २०० मिटर तटबन्ध कटान गरी करिब २५ हेक्टरमा क्षति भएको । अनुमानित क्षतिको लागत ७५ लाख रुपैयाँ।

- मेची नदीले ठाउँ ठाउँमा रहेको स्परहरूमा क्षति पुर्याएको । अनुमानित क्षतिको लागत ५० लाख रुपैयाँ । 

- केशलिया नदीमा (बुढी खोला) आएको बाढीले विराटनगर महानगरपालिका ६ र १२ को बस्ती डुबान भई ७५ घर धुरी स्थानान्तरण भएको ।

- कमला नदीको पूर्वी किनार सिरहा १७ पटेरूवाको तटबन्धमा क्षति पुर्याएको । अनुमानित क्षतिको लागत २५ लाख रुपैयाँ ।

- लाल बकैया नदीको दायाँ किनार मौलापुर नगरपालिका १ मर्यादपुरमा करिब ६० मिटर तटबन्ध बगाई  करिब १०० हेक्टर धान खेत र बौदीमाई गाउँमा करिब १२० मिटर तटबन्ध बगाई २०० हेक्टर धान खेतमा क्षति भएको र अनुमानित २०० वटा घर गोठ डुबान भएको । अनुमानित क्षतिको लागत ६० लाख रुपैयाँ ।

- महोत्तरीको रातो नदीले बलवा नगरपालिका २, १० र ११ को  बन्चौरी, लेउरी, भल्नी तथा भगवतीपुर गरी ३९० मिटर तटबन्ध बगाएको,

साथै लोहरपट्टी नगरपालिका ६ लोहारपट्टीका ४०० मिटर, महोत्तरी गाउँपालिका ६ रतबारामा २० मिटर,  जलेश्वर नगरपालिका १, ४ र ७ को बखरी र खैरामा गरी ८० मिटर तटबन्ध बगाई क्षति भएको । रातो नदीले जम्मा ८९० मिटर तटबन्ध कटान भएको र साथै  सदरमुकाम जलेश्वर समेत बाढीको जोखिममा रहेको । अनुमानित क्षतिको लागत ८ करोड रुपैयाँ । 

सिँचाई तर्फ

- सिँचाई प्रणालीहरूको बाँध क्षेत्रमा नदीहरूमा आएको बाढीलाई सुरक्षित तवरले नदीमा फर्काउन हेड रेगुलेटर, अन्डरस्लुइस,  मूल नहर र शाखा नहरहरूका गेटहरूलाई समयमा नै गेट अप्रेसन गरेको हुँदा सिँचाई प्रणालीहरूमा उल्लेख्य क्षति नभएको । 

- झाँज सिँचाई प्रणालीको ब्यारेज भन्दा २०० मिटर माथिल्लो तटिय क्षेत्रको दायाँ गाइड बण्डबाट ओभरफ्लो भई मोहमदपुर गाउँ डुबान भएको ।

-  सुनसरी मोरङ, बागमती र नारायणी सिँचाई आयोजनाहरूको सिञ्चित क्षेत्र भित्र रहेका खोला खोल्साहरूले खेतीयोग्य जमिनमा कटान गरेको प्रारम्भिक आँकलन रहेको । 

- सुनकोशी नदीमा आएको बाढीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गतको निर्माणाधीन बाँध स्थल डुबान भएको । कफर ड्याम लगायत निर्माणाधीन संरचनाहरूको अवस्था एकिन हुन नसकेको ।

पहिरो तर्फ

- इलाम, पाँचथर, ताप्लेजुङ लगायत कोशी र बागमती प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोका घटनाहरू भएको र सो को विवरण प्राप्त हुन बाँकी । 

Share News