काठमाडौं । अविरल वर्षाका कारण दुई दर्जन सडकमा क्षति पुर्याएको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, दमकका अनुसार वर्षाका कारण पूर्वका दुई दर्जन बढी सडकमा क्षति पुर्याएको जनाएको छ ।
कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार सामान्य पहिरो गएका ठाउँमा तत्काल पच्छ्याएर सवारी साधन सुचारु गरिएको छ । साथै, केही स्थानमा पहिरो पच्छ्याउन ३ दिनसम्म समय लाग्न सक्ने कार्यालयले जनाएको छ ।
कुन-कुन सडक भए अवरुद्ध ?
सडक डिभिजन कार्यालय हर्कपुर अन्तर्गत रहेकाे हर्कपुर-ओखलढुंगा-सोलु, हलेसी-दिक्तेल-चखेवा सडक खण्डमा सामान्य पहिरो गएको छ । पहिरो पच्छ्याएपछि उक्त सडक खण्डमा सवारी आवागमन सुरू भएकाे जनाएकाे छ ।
आयोजना कार्यालय कटारी अन्तर्गत मिर्चिया-कटारी-घुर्मी सडक खण्डकाे ६४ किलोमिटर नजिकै पहिरो जाँदा अवरुद्ध भएको छ । पहिरो पच्छ्याउने काम जारी रहेको र एक दिन समय लाग्ने जनाएको छ ।
आयोजना कार्यालय गाईघाट अन्तर्गत रहेकाे गाईघाट-दिक्तेल सडक खण्डको ३७ किलोमिटरदेखि ४५ किलोमिटरसम्मको क्षेत्रमा पहिरो जाँदा अवरुद्ध भएको छ । सडक खुलाउन १ दिन लाग्ने जनाएको छ ।
सडक डिभिजन लहान अन्तर्गत बसाहा-चतारा सडक खण्ड जलमग्न भएको छ । जलमग्न सडकमा पानी व्यवस्थापनको काम भइरहेको छ ।
यस्तै, कदमाहा-गाईघाट सडक खण्डमा सामान्य पहिरो झरेको छ । पहिरो पच्छ्याएपछि सवारी आवतजावत सुचारु भइरहेको छ ।
सडक डिभिजन विराटनगर अन्तर्गत कान्छी बजार-चतारा सडक खण्डमा रुखहरू ढलेका छन् । रुख हटाएपछि उक्त सडक सुचारु भएको छ ।
यस्तै, चतारा बराहा क्षेत्र सडक खण्डको बराह नजिक र धरान-भेडेटार सडक खण्डको निशाने खोला नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको छ । पहिरो पच्छ्याउने काम जारी छ । चतारा बराहा क्षेत्र सडक खुल्न ३ घण्टा र धरान-भेडेटार सडक खण्ड खुल्न २ घण्टाको समय लाग्नेछ ।
सडक डिभिजन धनकुटा अन्तर्गत भेडेटार-मूलघाट सडक खण्डमा ४ ठाउँमा पहिरो गएको छ । पहिरो पच्छ्याएपछि सवारी आवागमन सुचारु भएको छ ।
यस्तै, पाख्रिबास-लेगुवा सडक खण्डमा ६ ठाउँमा पहिरो गएको छ । पहिरो पच्छ्याएर एकतर्फी सवारी आवतजावत भइरहेको छ ।
सडक डिभिजन तुम्लिङटार अन्तर्गत लेगुवा-खाँदबारी सडक खण्डमा खेवा खोला र लेगुवा-भोजपुर सडक खण्डमा चखेवा खोलामा पहिरो गएको छ । पहिरो पच्छ्याएपछि उक्त सडक खुलेको छ ।
सडक डिभिजन इलाम अन्तर्गत जोर कलश फिक्कल सडक खण्डमा पहिलो झरेको छ । पहिरो पच्छ्याएर एकतर्फी सडक सञ्चालन गरिएको छ ।
यस्तै, फिक्कल-गोदाक सडक खण्डमा ठूलो पहिरो जाँदा अवरुद्ध भएको छ । उक्त सडक खुलाउन १ दिन समय लाग्नेछ ।
यस्तै, माइखोला पुल र माइखोला-राजद्वाली सडक खण्ड बन्द भएको छ । सडक खुलाउन ३ दिन समय लाग्नेछ ।
यस्तै, इलाम-धोवीधारा सडक खण्ड भासिएको छ । उक्त सडक खुलाउन १ दिन समय लाग्ने जनाएको छ ।
यस्तै, धोवीधारा-नेपालटार सडक खण्डमा पुवा खोला नजिकै सडक भासिएको छ । सडक खुलाउन २ दिन समय लाग्नेछ ।
यस्तै, नेपालटार-राके सडक खण्ड, राके-फिदिम सडक खण्डमा पहिरो झरेको छ । सडक सुचारु गर्न २ दिन समय लाग्नेछ ।
यस्तै, मेची करिडोरमा विभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ । उक्त सडक सुचारु गर्नका लागि कति समय लाग्ने भन्ने एकिन हुन सकेको छैन ।
तमोर कोरिडोर मूलघाट अन्तर्गत मूलघाट-सुभङ खोला सडक खण्डमा मेवा र चोरुवा खोलामा बाढी आएका कारण अवरुद्ध भएको छ । सडक खुलाउन २ दिन समय लाग्नेछ ।