पुसमा महाधिवेशन गर्न जुट्यो एमाले, अध्यक्ष पद छाड्दै ओली

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन पुस अन्तिम साता गर्ने तयारी भएको छ । पार्टी भित्र नेतृत्व पुर्नगठनको माग उठिरहेको बेला एमालेले महाधिवेशनको तयारी सुरु गरेको हो ।

एमालेका एक पदाधिकारीका अनुसार आगामी महाधिवेशनको सम्पूर्ण कार्यक्रम असोज अन्तिम साता आयोजित केन्द्रीय कमिटी बैठकमा लगेर अनुमोदन गर्ने तयारीमा पार्टी शीर्ष नेतृत्व रहेको छ । नेतृत्व हस्तान्तरणको माग उठिरहे पनि महाधिवेशनसम्म केपी शर्मा ओली नै अध्यक्ष रहने छन् ।

पार्टी उच्च स्रोतका अनुसार एघारौं  महाधिवेशनसम्म एमालेको नेतृत्व  वर्तमान अध्यक्ष केपी शर्मा ओलिले नै गर्नेछन्  । 

महाधिवेशनमा पनि अध्यक्ष ओलीले चाहाँदा उनलाई नेतृत्वबाट बेदखल गर्न सक्ने अवस्था नरहे पनि एघारौं महाधिवेशनमा ओलीले नेतृत्व हस्तान्तरण गर्ने तयारी गरेको पार्टीका एक जना पदाधिकारीले जानकारी दिए । 

‘नेतृत्वमा को आउनुहुन्छ त्यो त भन्न सकिएन । तर आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ,’ ती पदाधिकारीले भने । 

मङ्सिरमै महाधिवेशन गरियो भने फागुनमा हुने आम निर्वाचनको तयारी  गर्न समय पुग्ने भएकोले अहिले महाधिवेशनको सबैभन्दा उपयुक्त समय मङ्सिर हुने ती पदाधिकारीले बताए ।

दोस्रो विधान महाधिवेशनले ओलीलाई नेतृत्वमा आउने सबै बाटा खुल्ला गरे पनि  पछिल्लो राजनीतिक परिस्थिति असहज भएकोले ओलीले नेतृत्व हस्तान्तरणको तयारी गरेको बुझ्न सकिने ती पदाधिकारीको धारणा छ । ‘बरु विधान महाधिवेशनले पारित गरेको विधानलाई एघारौं महाधिवेशनले केही संसोधन गर्न सक्छ,’ उनले भने । 

ती पदाधिकारीका अनुसार महाधिवेशनले विधान परिमार्जन गरेर ओली कमरेडको लागि सम्मानित स्थान सिर्जना गर्नेछ । यस सम्बन्धि प्रस्ताव आगामी २४ गते बस्ने सचिवालय बैठकमा लग्ने तयारी भएको ती पदाधिकारीले जानकारी दिए ।

एमालेका महाधिवेशनहरु

पहिलो महाधिवेशन २०१० माघ १० – २०
दोश्रो महाधिवेशन  २०१५ जेठ १५ – २५
तेश्रो महाधिवेशन  २०१९ बैशाख ४ – १५
चौथो महाधिवेशन  २०४६  भदौ ९ – १४
पाँचौ महाधिवेशन २०४९ माघ १४ – २०
छैठौ महाधिवेशन २०५४ माघ १२ – १८
सातौ महाधिवेशन  २०५९ माघ १८ – २२
आठौं महाधिवेशन २०६५ फागुन ५ – १४
नवौं महाधिवेशन  २०७१ असार १९ –  ३१
दशौ महाधिवेशन २०७८ मङ्सिर १० – १३
 

Share News