दुई दिन सेयर बजार बन्द, दशैंपछि बजार बढ्ने अपेक्षा

काठमाडौं । आइतबार र सोमबार सेयर बजार नखुल्ने भएको छ । सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै दुई दिनका लागि नेप्से बन्द हुने भएको हो ।

दशैं बिदापछि आइतबारदेखि सेयर बजार सञ्चालनमा आउने अपेक्षा गरिएको थियो । तर, देशभर अविरल वर्षासँगै सिर्जित प्रतिकूल अवस्थाका कारण सरकारले थप दुई दिन सार्वजनिक बिदा दिएको छ । यससँगै आज र भोलि सेयर कारोबार नखुल्ने भएको हो ।

दशैंपछि बजार बढ्न सक्ने अनुमान लगानीकर्ताको छ । दशैंमा ठूलो परिमाणको रकम चलायमान भएकोले त्यो रकम सेयर बजारमा आएर बजार बढ्न सक्ने अपेक्षा लगानीकर्ताको छ । 

भारी वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने लामो दूरीका सवारीसाधन सञ्चालनमा समेत रोक लगाएको छ ।

यसले दशैं मनाउन गाउँ गएका सर्वसाधारणलाई काठमाडौं फर्कन कठिन हुने भएपछि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Share News