सप्तकोशी नदीमा जलवहाव उच्च, कोशी ब्यारेजका ३९ ढोका खोलिए

काठमाडौं । अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलवहाव बढ्दै गएपछि कोशी ब्यारेजका ३९ गेट (ढोका)  खोलिएका छन् । जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड २ लाख ७१ हजार ३१० क्यूसेक पुगेपछि ३९ ढोका खोलिएको जानकारी दिए ।

उनका अनुसार आज बिहान ७ बजे सो नदीको जलवहाव मापन गरिएको थियो ।शनिबार बेलुका ८ बजे पानीको प्रवाह मापन गर्दा १ लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो ।

गत भदौ १७ गते नदीमा पानीको वहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो । यसपछि लगातार पानीको वहाव घटेको थियो । शुक्रबार र शनिबार लगातार बर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको वहाव बढ्दै गएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार अहिले कोशी ब्यारेजमा तीन रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।

Share News