मानवीय क्षति शून्य हुने गरी काम गर्दैछौं, सङ्कटमा फाइदा उठाउने विरुद्ध सरकार कठोर हुन्छः गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विगतको कमजोरीबाट पाठ सिक्दै यसपटकको विपद्मा मानवीय क्षति नहुने गरी पूर्वतयारी र प्रति कार्यको काम भइरहेको बताएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार भेटघाटमा उनले यसपटक मानवीय क्षति शून्य नै होस् भन्ने उद्देश्यका काम भइरहेको बताए । 

गृहमन्त्री अर्यालले मानवीय क्षति शून्यमा झार्ने सरकारको योजनामा कुनै कमीकमजोरी नहोस् भनेर निर्देशन दिइएको पनि बताए । 

विपद्का समयमा गलत फाइदा उठाउन खोज्ने प्रवृत्ति विरुद्ध सरकार कठोर ढङ्गबाट प्रस्तुत हुने स्पष्ट पार्दै उनले भने, ‘सङ्कटका बेला जसले नाजायज अवसर देखिरहेको छ, त्यस विरुद्ध निगरानी र नियन्त्रण गरिनेछ ।’

सङ्कटका बेला सुशासनको महत्त्व बढी हुने उल्लेख गर्दै गृहमन्त्री अर्यालले सरकारको निर्देशनलाई मातहतका निकायले कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताए । 

‘सानो भन्दा सानो कमजोरीले नयाँ परिस्थितिको जन्म हुनसक्छ, हाल राजनीतिक परिस्थिति पनि जटिल छ,’ उनले भने, ‘व्यापक असन्तुष्टि छ, यही बीचमा सरकार, संयन्त्र र कर्मचारीको कमीकमजोरीले नाजायज काम भए राज्य प्रतिको असन्तुष्टि नयाँ चरणमा प्रवेश गर्छ । त्यसैले सबै सतर्क रहन आवश्यक छ ।’

Share News