सुदूरपश्चिममा मौसम सामान्य

काठमाडौं । देशको मध्य तथा पूर्वी क्षेत्रमा मनसुनी वर्षा सक्रिय भइरहँदा सुदूरपश्चिम प्रदेशमा भने आज मौसम सामान्य रहेको छ ।

स्थानीय वायुको प्रभाव कायमै रहेकोले एक÷दुई स्थानमा वर्षा हुनसक्ने पूर्वानुमान गरिए पनि प्रदेशका अधिकांश जिल्लामा दिउँसो घाम लागेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ ।

गएराति कैलालीको चुरे पहाडी क्षेत्र गर्भामा ७० मिलिमिटर वर्षाको मापन गरिएको थियो ।

‘सुदूरपश्चिम प्रदेशमा आज मौसम सामान्य रह्यो । प्रदेशमा मौसम क्रमशः सामान्य हुँदै जाने पूर्वानुमान गरिएको छ,’ कार्यालयका प्रमुख सञ्जय साहले भने ।

वर्षासँगै हुनसक्ने विपद् जोखिम न्यूनीकरणका लागि कैलाली, कञ्चनपुरलगायत जिल्लाका विभिन्न नदी किनारमा ‘गेज रिडर’लाई सक्रिय पारिएको पनि उनले जानकारी दिए । 

Share News