काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरि चिन्ता रहेको बताएकी छिन् । अविरल वर्षापछि बाढी पहिरो जाने क्रम जारी रहेका बेला प्रधानमन्त्री कार्कीले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरि चिन्ता रहेको बताइन् । कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर गर्न उनले आग्रह गरिन् ।
‘तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरि चिन्ता हो, आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस् । हामी तपाईंहरूको चिन्ता र कठिनाइलाई बुझ्छौँ । तपाईं यसमा एक्लो हुनुहुन्न । राज्यका सम्पूर्ण स्रोत तपाईंहरुसँगै छन्,’ भिडियो सन्देशमा भनिएको छ, ‘हामी बाढी पहिरो, डुबान र कटानको उच्च जोखिममा छौं । जोखिमको परिस्थिति बढ्ने क्रममा छ । हाल नदीनालाहरूको बहाव उच्च सतर्कताको तहमा छ । निरन्तर वर्षाका कारण खतराको तहमा जानसक्ने सम्भावना अधिक छ । धेरै स्थानमा पहिरोको जोखिम पनि उत्तिकै छ ।
वर्षाका कारण बाढी पहिरो, डुबान र कटानको उच्च जोखिममा रहेकाले परिस्थिति अझै बढ्न सक्ने उनको भनाइ छ । प्रधानमन्त्री कार्कीले यो चुनौतीपूर्ण समयमा सबै नागरिकलाई आश्वस्त पार्न खोजेकी छिन् । साथै सबै सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिका बाबजुद उच्च मनोबलका साथ पूर्ण तयारीका अवस्थामा रहेको उनले बताइन् ।
‘नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना, स्वास्थ्यकर्मी, प्रशासन र अन्य सेवा दायी निकायहरू आपतकालीन सेवा नागरिकलाई यथाशक्य चाँडो सहयोग प्रदान गर्न २४ सै घण्टा तयार अवस्थामा छन्,’ उनले भनिन्, ‘महत्वपूर्ण राजमार्ग र अन्य पूर्वाधारको सक्रिय रुपमा निगरानीमा छन् । तपाईं जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित रहनुस् र अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस् ।’