रोसी, मनोहरा, लालबकैया र बागमती नदीमा खतराको तह पार, उच्च सतर्कता अपनाउन अपिल

काठमाडौं । निरन्तरका वर्षासँगै काठमाडौं उपत्यका आसपासका नदीको जल सतह बढ्न थालको छ । जल तथा मौसम विज्ञान विभाग, खोकनामा जलमापन स्टेसनका अनुसार बागमती नदीले खतराको तह पार गरेको छ ।

विभागका बाढी विद् विनोद पराजुलीले उपत्यका आसपासका नदीमा जल सतह बढ्दो क्रममा रहेको भन्दै आज राति अझै अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । 

‘खोकनास्थित बागमती नदीमा ३.५ मिटर खतराको तह रहेकोमा हाल ४.२ मिटर जल सतह पुगेको छ । यो क्रम निरन्तर बढ्ने भएकाले सतर्कता अपनाउन आवश्यक  छ,’ उनले भने ।

विभागका अनुसार काभ्रे स्थित रोसी, काठमाडौंको मनोहरा र बागमती नदी, मकवानपुरको लालबकैया नदीले जल सतह सतर्कता तह पार गरेको छ । बागमती र मधेस प्रदेश भएर बहने प्रायः सबै नदी-नालामा जल सतह सतर्कता तह नजिक पुगेको छ । 

आज साँझ र राति जोखिम थप बढ्ने पूर्वानुमान गरिएकाले तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Share News