हेटौंडा-काठमाडौं सडकमा सवारीसाधन सञ्चालन गर्न नपाइने, यात्रुहरू अलपत्र परे

काठमाडौं । बाढी पहिरोको जोखिम बढेकाले हेटौंडा-काठमाडौं जोड्ने सडकमा सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णयअनुसार हेटौंडा-काठमाडौं जोड्ने मुख्य सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए । 

उनका अनुसार हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ, हेटौंडा-भैँसे-फाखेल सडक र हेटौंडा-चित्लाङ-काठमाडौं सडकमा सवारीसाधनलाई आज बिहानैदेखि सञ्चालन गर्न दिएको छैन । हेटौँडा हुँदै काठमाडौंका निम्ति छुटेका सबै सवारीसाधनलाई प्रहरीले हेटौंडाको चौकीटोल, भैँसे, पिप्लेमा रोकेको छ । सवारीसाधन सञ्चालन नहुँदा यात्रीहरू अलपत्र परेका छन् ।

हेटौंडा-काठमाडौं जोड्ने कुनै पनि सडक हालसम्म बाढी वा पहिरोका कारण अवरुद्ध नभए पनि वर्षा निरन्तर भइरहेकाले जोखिमबाट जोगिन ती सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रवक्ता बोगटीले बताए ।

यसैबीच, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आजदेखि असोज २० गतेसम्म अत्यन्त  टाढा र राति यात्रा नगर्न आग्रह गरे । उनले सबै जिल्लाबासीलाई सचेत रहन आग्रह गरे । 

Share News