काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत बन्द गरेको छ । बढ्दो वर्षा र बाढी, पहिरोको प्रकोपलाई ध्यानमा राखेर काठमाडौं भित्रिने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको प्राधिकरणले जनाएको छ ।
‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सवारी साधन नचलाउन भनिएको छ । साथै, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारी साधन आवतजावत बन्द गर्न तथा गराउन एवं सो को निरन्तर अनुगमन तथा निगरानी गर्नु हुन निर्देशन गरिएको छ ।
