काठमाडौं । नेपालीहरूको महान पर्वमा घरपरिवारमा भेटघाट, रमझम र भोज भतेरको वातावरण सिर्जना हुने गर्छ । विशेषगरी मासु र रक्सी चाडपर्वको बेला बढी खपत हुने गर्दछ । दसैँतिहार नेपाली समाजमा मात्र नभई विदेशमा रहेका नेपालीहरूमा पनि परिवार एकत्रित हुने अवसरका रूपमा मनाइन्छ ।
रक्सी र मासुको परिकारले रमाइलो थप्ने भए पनि यो पर्वलाई स्वास्थ्यप्रद र सुरक्षित बनाउन सचेत रहनु आवश्यक छ । मासु र रक्सीको स्वादसँगै स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर चाडपर्व रमाइलो बनाउन सकिन्छ ।
चिकित्सक र विज्ञहरूले सुझाव दिएका ‘सुरक्षित रक्सी सेवनका नियम’ पालना गर्न सकेमा पर्वहरू अझै सुखद र अर्थपूर्ण बन्नेछ । आज हामी रक्सी कसरी पिउने बारेमा छोटकरीमा चर्चा गर्नेछौँ ।
सीमित मात्रामा पिउने
डाक्टरहरू पुरुषका लागि दिनमा २ पेग र महिलाका लागि १ पेगभन्दा बढी नगर्न सल्लाह दिन्छन् । धेरै मात्रामा पिउँदा तत्कालीन र दीर्घकालीन असर पुग्न सक्छ । रक्सीको मात्रालाई बुझ्न १ स्ट्यान्डर्ड ड्रिंक भनेर मापन गरिन्छ, जुन करिब १०-१४ ग्राम शुद्ध अल्कोहल बराबर हुन्छ ।
जस्तै बियर- ३३० एमएल (एक बोतल सामान्य बियर), वाइन- १०० देखि १५० एमएल (सानो ग्लास वाइन) र ह्विस्की/भोड्का र रक्सी ( ३०-४५ एमएल (सट ग्लास) ।
विश्व स्वास्थ्य संगठन र अमेरिकी रोग नियन्त्रण केन्द्रका अनुसार पुरुषका लागि दिनमा अधिकतम २ स्ट्यान्डर्ड ड्रिंक र हप्तामा १४ मात्र । यसैगरी, महिलाका लागि दिनमा अधिकतम १ स्ट्यान्डर्ड ड्रिंक र हप्तामा ७ मात्र ।
मात्रा आफ्नो क्षमताअनुसार लिनु
रक्सी पिउने बेला आफ्नो शरीरले कति धान्न सक्छ त्यसमा निकै ख्याल गर्नुपर्छ । अरूको उक्साहटमा वा लहलहैमा लागेर पिउँदा गाह्रो पर्न सक्छ । त्यसैले आफूले अड्कलेर खानु बुद्धिमानी ठहरिन्छ ।
खाली पेटमा नपिउने
खाली पेटमा रक्सी नपिउनुहोस् । खाली पेटमा रक्सी पिउँदा शरीरमा असर अझ तीव्र र छिटो हुन्छ । किनभने पेटमा खाना नभएको कारण रक्सी छिट्टै सिधै सानो आन्द्रामा पुग्छ र रगतमा छिट्टै सोसिन्छ । खाली पेट पिउँदा रक्सीको असर छिटो देखापर्छ । ५/१० मिनेटमै टाउको हलुका हुने, बोली अस्पष्ट हुने, सन्तुलन गुम्ने सम्भावना हुन्छ ।
यसैगरी, पेट खाली हुँदा रक्सीले पेटको भित्तामा प्रत्यक्ष असर गर्छ जसले एसिड बढ्न गई ग्यास्ट्राइटिस र अल्सरको जोखिम हुन्छ ।
रक्सी पिउनुभन्दा पहिला प्रोटिनयुक्त खानेकुरा खाने
रक्सी पिउनुअघि कम्तीमा ३० मिनेट पहिला प्रोटिनयुक्त खानेकुरा खानु निकै राम्रो हो । किनकि यसले रक्सीको असरलाई कम पार्छ र शरीरलाई केही हदसम्म सुरक्षित राख्छ ।
प्रोटिनयुक्त खानाले पेटमा रक्सी सजिलै सोसिँदैन । प्रोटिनयुक्त खाना पेटमा लामो समय बस्छ, जसले रक्सीलाई छिट्टै रगतमा प्रवेश गर्न नदिई असर बिस्तारै देखापर्छ। खाली पेटमा पिउँदा ब्लड सुगर घट्न सक्छ, प्रोटिनले यसलाई नियन्त्रणमा राख्छ ।
हामीले उसिनेको अण्डा वा अण्डाको अमलेट, चिज, दही वा ग्रीक योगर्ट, ग्रिल गरिएको मासु, माछा वा कुखुराको मासु, चना, दाल, बदाम, काजु, पिनट बटर लगायत खान सकिन्छ । साथै प्रोटिनसँगै थोरै कार्बोहाइड्रेट (रोटी, भात, आलु, सलाद) खाँदा अझ राम्रो प्रभाव पर्छ ।
रक्सी पिउँदा बीचबीचमा हलुका खाले खानेकुरा खाँदा राम्रो हुन्छ । साथै बेलाबेलामा पानी पिउनुपर्छ । यसले तपाईंलाई ह्याङओभर हुनबाट रोक्छ ।
रक्सी पिएर सुत्नुअघि खानेकुरा खानु लाभदायक
स्वास्थ्य विशेषज्ञहरूले रक्सी पिएपछि सुत्नु अघि हल्का खाना खानु लाभदायक हुने बताउँछन् । विशेषज्ञहरूका रक्सी पिइसकेपछि सुत्नुअघि खाना खाँदा ह्याङओभर कम हुन्छ ।
साथै पानी पिउनु अत्यन्त जरुरी छ । यसले रक्सीले शरीरमा ल्याउने डिहाइड्रेशन घटाउँछ र मस्तिष्कमा होस फर्काउन मद्दत गर्छ । विशेषज्ञहरूले धेरै तेल भएको, मसालेदार वा धेरै मात्रामा खाना सुत्नुअघि नखान सल्लाह दिएका छन् ।
परीक्षणहरूले सुत्नुअघि सही खाना र पानी सेवनले टाउको दुखाइ, उल्टी र थकान कम गर्न मद्दत गर्ने देखाएको छ । सकेसम्म रक्सी सेवन नगर्नूहोस् गर्नै परे यी उपायहरू अपनाउँदा राम्रो हुन्छ ।