सेयर बापतको रकम चुक्ता गर्न अमादब्लम मिनि हाईड्रोको ताकेता, नतिरे सेयर खारेज गर्ने

काठमाडौं । अमादब्लम मिनि हाईड्रोले बाँकी रकम जम्मा गर्न सेयरधनीहरूलाई ताकेता गरेको छ । कम्पनीका संस्थापक सेयरधनीहरूलाई तेस्रो पटक सूचना पठाउँदै सेयर बापतको बाँकी रकम भुक्तानी गर्न ताकेता गरेको हो ।

कम्पनी ऐन, २०६३ को दफा ५३ (२) बमोजिम अमादब्लम मिनि हाईड्रोको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार सेयरधनीहरूलाई प्रतिकित्ता १ सय रुपैयाँका दरले कबुल गरेको सेयर बापतको बाँकी रकम भुक्तानी गर्न भनिएको छ । 

आफूले कबुल गरेको सेयर बापतको रकम चुक्ता गर्न कम्पनीले सेयरधनीहरूलाई ३५ दिनको समय दिएको छ । यदि उक्त अवधिभित्र रकम भुक्तानी नगरेमा कम्पनी ऐन, २०६३ को दफा ५३ (३) बमोजिम र कम्पनीको नियमावलीमा भएको व्यवस्था अनुसार सेयर जफत (खारेज) गर्ने र आवश्यक कारबाही अगाडि बढाइने कम्पनीले चेतावनी दिएको छ ।

कम्पनीका अनुसार लक्ष्मण अधिकारीको नाममा ७ लाख कित्ता सेयर रहेको छ । उनले कम्पनीलाई ६ करोड ४४ लाख ९० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यस्तै, फुथुण्डु शेर्पाको नाममा १ लाख ५० हजार कित्ता सेयर रहेको छ । उनले कम्पनीलाई ९२ लाख ९० हजार भुक्तानी बाँकी छ । 

बेयुल हाइड्रो पावर इन्भेष्टमेन्ट प्रालिको नाममा १ लाख ९६ हजार कित्ता सेयर छ भने ३ लाख ९० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कम्पनीले जनाएको छ । 

आङ पासाङ शेर्पा, पेम्वा थुण्डु शेर्पा र लाक्पा डोमा शेर्पाको नाममा समान १ लाख ५० हजार कित्ता सेयर छ । उनीहरुले कम्पनीलाई १ करोड ४० लाख रुपैयाँका दरले भुक्तानी गर्न बाँकी रहेको छ । 

यस्तै, डोमा छिरी शेर्पाको नाममा ४ हजार कित्ता सेयर रहेको छ । उनले ३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कम्पनीले जनाएको छ । 

Share News