देशभित्रै आक्रमण हुने राष्ट्रपति ट्रम्पको चेतावनी, यी शहरमा असुरक्षित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशभित्रै ‘आक्रमण’ को सम्भावना रहेको चेतावनी दिएका छन् । यसलाई उनले ‘विदेशी शत्रुभन्दा फरक छैन, तर अझै गाह्रो’ भन्दै चिन्ता व्यक्त गरेका छन् । 

उनका अनुसार यस्ता शत्रुहरूले वर्दी नलगाउने हुनाले तिनीहरूलाई शत्रुहरू पत्ता लगाउन कठिन हुन्छ । भर्जिनियाको क्वान्टिकोस्थित मरीन कप्रस बेसमा शीर्ष अमेरिकी सैन्य अधिकारीहरूको भेलालाई सम्बोधन गर्दै ट्रम्पले भित्री शहरहरूलाई सुरक्षा चुनौतीका रूपमा चित्रण गरे । 

उनले रक्षामन्त्री पिट हेग्सेथलाई खतरनाक अमेरिकी शहरहरूलाई सैन्य तथा नेशनल गार्ड प्रशिक्षणका लागि प्रयोग गर्न सुझाव दिए ।

‘हाम्रा भित्री शहरहरू अहिले युद्धको ठूलो हिस्सा बनेका छन् । मैले पिटलाई भनेँ, यी खतरनाक शहरहरूलाई हामीले हाम्रो सेना र नेशनल गार्डको प्रशिक्षण मैदान बनाउनुपर्छ । हामी चाँडै सिकागो जाँदैछौँ,’ उनले भने । 

राष्ट्रपति ट्रम्पले सान फ्रान्सिस्को, शिकागो, न्युयोर्क र लस एन्जलसलाई विशेषगरी ‘असुरक्षित’ क्षेत्रका रूपमा उल्लेख गर्दै आफ्नो प्रशासनले तिनीहरूलाई एक/एक गरेर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘सान फ्रान्सिस्को, शिकागो, न्युयोर्क, लस एन्जलस- यी सबै धेरै असुरक्षित ठाउँहरू हुन् । हामी तिनीहरूलाई एक–एक गरेर समाधान गर्नेछौँ । यो हाम्रो लागि एउटा प्रमुख युद्ध हो र यो भित्रैबाट हुने युद्ध हो,’ उनले भने ।

यसअघि, सेप्टेम्बर २१ मा राष्ट्रपति ट्रम्पले वासिङ्टन डिसीमा अपराध दर उल्लेखनीय रूपमा घटेको दाबी गरे । उनले सो क्षेत्रलाई गत वर्षको तुलनामा पूर्ण रूपमा फरक र सुरक्षित भएको बताउँदै यसलाई आफ्नो प्रशासनको ‘सुशासन र कडाइका कारण सम्भव भएको’ बताए । 

यसैबीच, अमेरिकी प्रशासनले अपराध नियन्त्रण र आप्रवासन दमन योजनाअन्तर्गत शिकागोमा नेसनल गार्ड तैनाथ गर्ने तयारी गरेको बताइएको छ ।

Share News