काठमाडौं । बडादसैँको नवौँ दिन आज नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ ।
दसैँ सुरु भएसँगै पहिराेका कारण पटकपटक अवरुद्ध हुँदै आएको नारायणगढ मुग्लिन सडकमा आज भने निर्वाध रूपमा सवारी साधन सञ्चालनमा छन् ।
हिजो अस्तिको तुलनामा सवारी साधनको चाप कम रहेको र कुनै अवरोध नरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।
उनका अनुसार दसैँ अवधिभर राजमार्गमा सुरक्षाकर्मी २४सै घण्टा खटिएको र यात्रुलाई कुनै पनि समस्या हुन नदिनेगरी काम गरिरहेका छन् ।
मङ्गलबार साँझ ७:३० बजे इच्छाकामना गाउँपालिका-५ स्थित तुइन खोलामा लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो । पहिरो पन्छाए सँगै ८:४० बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको थियो ।
गएरातिसम्म सवारी साधनको चाप रहे पनि हाल निकै कम रहेको प्रहरीले जनाएको छ । तुइन खोलामा पटकपटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।