काठमाडौं । २०८२ सालको दसैँको पूर्वसन्ध्यामा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अवस्था अघिल्ला वर्षहरू भन्दा असाधारण र कठिन छ । यसपटक ओली सत्ताबाट बाहिरिएका मात्र छैनन्, राजनीतिको केन्द्रविन्दुबाट पनि असहज परिस्थितिमा धकेलिएका छन् ।
भदौ २४ गतेको जेनजी आन्दोलनका प्रदर्शनकारीले ओली बालकोटस्थित निवास पूर्ण रूपमा आगजनी गर्यो । पार्टी कार्यालय र निवास पन ध्वस्त बनेको बेला ओलीलाई यस पटकको दसैँमा खासै उल्लास छैन । यही बेला उनी विभिन्न लाञ्छना र आरोपहरूको सामना गरिरहेका छन् ।
परम्परागत रूपमा दसैँ नेपाली समाजमा परिवार, मित्र, शुभेच्छुकसँग मिलेर खुसी बाँड्ने पर्व हो । तर ओलीले यसपटक सम्भवतः त्यो सामूहिक खुसीभन्दा बढी आत्ममन्थन र राजनीतिक चुनौतीसँगै दसैँ मनाउनुपर्ने देखिन्छ ।
राजनीतिक रूपमा पनि ओलीको दसैँ २०८२ कठिनाइको बीचमा गुज्रिने संकेतहरू देखिएका छन् । पार्टीको संगठनात्मक ढाँचामा व्यापक आक्रमण भएको छ । ओली विरुद्ध पार्टीभित्रै असन्तोष बढेको छ । सरकार बाहिर रहँदा पनि उनको प्रभाव कम हुँदै गएको परिवेशमा,दसैँले उनलाई आत्म परीक्षण गर्ने अवसर त दिन सक्छ, तर शक्तिको केन्द्रतर्फ फर्कनुपर्ने ऊर्जा सञ्चित गर्ने चुनौती पनि बढाएको छ ।
यस्तो अवस्थामा ओलीले डेराबाट दसैँ मनाउँदै छन् । विगतमा काठमाडौंमा दसैँ मनाएर गृह जिल्ला झापासम्म पुग्ने गरेका ओलीको यस पटकको दसैँ कार्यक्रमको केही तयारी नभएको ओलीका स्वकीय सचिव राजेश शाक्यले जानकारी गराए ।
शाक्यका अनुसार उनले घरमै टीकाटालो गरेर दसैँ मनाउने छन् । ओलीले बडा दसैँ आफ्ना बुवासँग टीका लगाएर, घरमा टीका थाप्न आउने आफन्त र पार्टीका नेता कार्यकर्तालाई टीका लगाइदिएर मनाउने शाक्यले जानकारी दिए ।