प्रचण्डले कसरी मनाउँदैछन् दसैँ ?

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको यसपालीको दसैँ राजनीतिक र पारिवारिक दुवै सन्दर्भमा सामान्य रहने बताइएको छ । गत वर्षहरूमा जस्तै उनले यसपालि पनि सामान्यरुपमा दशैं मनाउने दाहालका प्रेस संयोजक गोविन्द आर्चायले जानकारी दिए ।

‘विगत वर्षहरुमा पनि उहाँले दसैँलाई त्यस्तो रौनकमा मनाएको जस्तो लाग्दैन,’ आचार्यले भने, ‘यसपालि त उहाँको भरतपुरमा रहेको आफ्नो घर तत्काल बस्न योग्य छैन । यस्तो अवस्थामा दसैँ शेष हुने कुरै भएन ।’

दाहाल पनि भदौ २४ को जेनजी आन्दोलनपछि नयाँ घरमा सरेका छन् । केही राजनीतिक भेटघाट र परिवारका सदस्यसँग उनको दसैँ बित्ने आचार्यले बताए । 

आचार्यका अनुसार उनले दसैँलाई मात्र धार्मिक उत्सव नभई सामाजिक पुनर्मिलन, मेलमिलाप र राष्ट्रिय एकताको पर्वका रूपमा लिनुपर्नेमा जोड दिएका छन् । 

राजनीतिक रुपमा भने प्रचण्डको यो दसैँ केही चुनौतीपूर्ण देखिएको छ । आगामी निर्वाचन, अनि आफैले घोषणा गरेको विशेष महाधिवेशन लगायतले उनलाई दसैँमा पनि राजनीतिक चिन्तनमै व्यस्त राख्ने सम्भावना छ । 

परिवारसँग पूजापाठ गर्ने परम्परागत कार्यक्रम नभए पनि उनले आफ्नो महत्वपूर्ण समय परिवारलाई नै दिन सक्ने आचार्यले जानकारी गराए । त्यसका बाबजुद उनको अधिकांश समय पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकसँग औपचारिक भेटघाटमै खर्चिन सक्ने अनुमान गरिएको छ । 

Share News