महिला नेतृत्वको लेकबेसी सहकारीले बिक्री​​​​​​​ गर्याे ३५० खसी बोका

काठमाडौं । नवलपरासीको हुप्सेकोट गाउँपालिका-४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक सहकारीमार्फत ३५० वटा खसी बोका बिक्री गरिएको छ । लेकबेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँको अवसरमा ती खसी बोका बिक्री गरेको हो ।

गाउँपालिकामा रहेका किसानहरूले उत्पादन गरेका खसी बोका सङ्कलन गरी घटस्थापनाको दिनदेखि बिक्री सुरु गरिएकामा हालसम्म ३५० खसी बोका बिक्री गरिएको सहकारी संस्थाको व्यवस्थापक सुशीला परियारले जानकारी दिइन् । 

‘असोज ६ गतेदेखि खसी बोका सङ्कलन र बिक्री सुरु गरेका थियौँ । हालसम्म ३५० वटा खसीबोका बिक्री गरेका छौँ,’ उनले भनिन्, ‘प्रतिकिलो ज्युँदो सरदर ५७० रुपैयाँसम्म बिक्री गरिएको छ ।’

संस्थामार्फत वर्षभरि नै खसी बोका सङ्कलन तथा बिक्री गरिने भए पनि चाडपर्वलाई लक्षित गरी बढी सङ्ख्यामा बिक्री भएको हो । 

‘गत वर्षको दसैँमा १५ सय खसी बोका बिक्री गरिएको थियो, त्यस बापत करिब २ करोड ५० लाख रुपैयाँको कारोबार भएको थियो,’ परियारले भनिन्, ‘यस वर्ष भने पहिले जति बिक्री भएन । दसैँपछि पनि बजारमा माग हुने हुँदा सोही अनुपातमा कारोबार हुने अनुमान गरेका छौँ ।’

गाउँमा उत्पादित खसी बोका बजारसम्म पुर्याउनका लागि सहकारीले विगत ११ वर्षदेखि बजार व्यवस्थापनको काम गर्दै आएको छ । कृषकहरूले भनेको समयमा बिक्री गर्न र उत्पादनअनुसार मूल्य नपाउने समस्या भएपछि सहकारीले सङ्कलन केन्द्रको स्थापना गरेर कृषि उपजको बजारीकरण गर्दै आएको छ ।

यसरी सहकारीले घरबाट नै खरिद गरेर बजारीकरण गरिँदा आम्दानी र कारोबारमा सहज भएपछि स्थानीय कृषकहरू खुसी भएका छन् । पहिले व्यापारीले भनेअनुसार बिक्री गर्ने बाध्यता रहेकामा केही वर्षदेखि सहकारीमार्फत बिक्री गर्दा बजारको चिन्ता नभएको र बजार मूल्य पनि पाएको कृषक शर्मिला विश्वकर्माको भनाइ छ ।

‘सहकारीले घरमै आएर खसी बोका जोखेर खरिद गर्ने हुँदा बिचौलियाबाट ठगिने समस्यासमेत हटेको छ,’ उनले भनिन् । 

सेयर सदस्यबाहेक अन्य कृषकहरूको पनि खसी बोका खरिद गर्ने गरिएको छ । ठूला व्यापारीदेखि स्थानीयसमेत खसी बोका लिन सहकारीमा आउने गरेका छन् । 

हुप्सेकोट गाउँपालिका क्षेत्रमा बाख्रा पालक कृषकहरूको सङ्ख्या उल्लेख्य रहेकाले यहाँबाट बर्सेनि सयौं खसी बोका काठमाडौं, पोखरालगायत सहरमा निर्यात गर्ने गरिएको छ । बाख्रापालन गर्ने कतिपय महिलाहरूले विदेश गएका श्रीमान्ले भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

Share News