काठमाडौं । कञ्चनपुरको बेदकोट नगरपालिका-३ सिउडीबागमा आज बोलेरो जीप दुर्घटना हुँदा १ बालिकाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार दैजी-जोगबुढा सडक खण्डमा दैजीबाट जोगबुढातर्फ जाँदै गरेको से१ज ४१७ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । जीप सडकबाट करिब २० मिटर तल खसेको थियो ।
दुर्घटनामा कञ्चनपुरको बेदकोट नगरपालिका-४ की करिब २ वर्षीया बालिका युबिका पालको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बोहराले बताए । अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेमा कृष्णपुर-१ वाणीकी ३३ वर्षीया धना बोहरा र उनका चार वर्षीय छोरा कमल बोहरा, बेदकोट-४ की ३० वर्षीया तारा पाल, उनका १० वर्षीय छोरा प्रिन्स पाल र स्थानीय ३५ वर्षीया देविन्द्र धामी घाइते भएका छन् ।
यस्तै, डडेल्धुराको परशुराम नगरपालिका-११ का २४ वर्षीय वीरेन्द्र कुँवर, उहाँकी २१ वर्षीया पत्नी मनीषा कुँवर र सोही नगरपालिकाका २८ वर्षीय नरेश सार्की घाइते भएका छन् ।
दुर्घटनापछि चालक फरार रहेका छन् । जीपमा चालकसहित १० जना सवार रहेका थिए ।