संगीता राई
काठमाडौं । सङ्खुवासभाका किसान मनोज राईलाई अझै सम्झना छ, त्यो बेलाको पीडा । गाउँमा मिहिनेत गरेर उत्पादन गरेका फलफूल पाकेर सड्थे, तरकारी खेर जान्थे । बजार नै थिएन । ‘हिजो हामी उत्पादन गरेर गोडेर फाल्नुपर्ने अवस्था थियो,’ उनी सुनाउँछन् ।
पाकेका फलफूल सडेर जान्थे, तरकारी हुन्थ्यो, बेच्न बजारसम्मको पहुँच थिएन । तर आज, मनोजका लागि त्यो अवस्था दिन छैन । २०५३ सालमा धरान उपमहानगरपालिका-१३ मा स्थापना भएको धरान कृषि उपज बजारले उनी जस्तै हजारौं पहाडी किसानको जीवनमा नयाँ आशा जगाएको छ ।
‘अहिले धरानको कृषि बजारले हाम्रो पसिनालाई मूल्य दिएको छ,’ मनोज भन्छन्, ‘मेहनतको कदर भएको महसुस भएको छ ।’
पहिले गाउँमा उत्पादन भएर खेर गएका बालीहरू अब यही बजारमार्फत नेपालका विभिन्न शहरदेखि भारतका बजारसम्म पुग्न थालेका छन् । बजार पाउने बित्तिकै किसानमा आत्मविश्वास बढेको छ, लगानी बढेको र स्थानीय अर्थतन्त्रमा पनि कृषि व्यापारले गति लिएको व्यवसायीहरू बताउँछन् । सडक सञ्जाल विस्तारसँगै गाउँमा उत्पादन भएको फलफूल र तरकारी अहिले सिधै गाडीमा लोड गरेर धरान ल्याइन्छ ।
‘पहिले सडक सञ्जाल नहुँदा यातायात सुविधा थिएन । अहिले गाउँगाउँमा सडक सुविधा पुगेको छ । अब बजारमा सिधै व्यापारीसँग सम्पर्क हुन्छ, मूल्य राम्रै पाइन्छ, पैसा ढिलो आउला भन्ने चिन्ता पनि हुँदैन,’ मनोज भन्छन् ।
पाँचथरका किसान विनोद मगरको पनि उस्तै अनुभव छ । ‘पहिला उत्पादन बेच्न पहाडबाट तराईसम्म ओर्लनै हम्मे थियो । लामो दूरी, सस्तो मूल्य र बिचौलियाको भरमा उत्पादन सस्तोमा बेचेको धेरै पटकको पीडा छ,’ उनले सुनाए, ‘तर, अब धरान कृषि बजारले सजिलो बनाइदिएको छ । बिचौलियाको झन्झट छैन, मूल्य पहिल्यै थाहा हुन्छ । अहिले गाउँका युवाहरू विदेश तिर होइन, खेतीतर्फ फर्किन थालेका छन् ।’
किसानको भर पर्दो केन्द्र
धरान कृषि उपज बजार अहिले किसानका लागि भर पर्दो बजारको रूपमा स्थापित भएको छ । बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार यहाँ विशेषगरी भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुम, इलाम, धनकुटा, खोटाङ उदयपुरलगायत तराई जिल्लाबाट दैनिक सयौं क्विन्टल कृषि उत्पादन, तरकारी र फलफूल ल्याइन्छ । यसले किसानलाई सिधा पहुँच, उचित मूल्य र समयमै भुक्तानी सुनिश्चित गरेको अध्यक्ष भट्टराई बताउँछन् ।
बिचौलियाको झन्झट हटाएर किसान र व्यापारीबीच सिधा सम्पर्क हुने वातावरण तयार गरिएको छ । बजारमा स्थापित चिस्यान भण्डारण केन्द्र र विषादी परीक्षण प्रयोगशालाले गुणस्तरीय उत्पादन प्रवाहमा सहयोग पुर्याएको छ ।
शीत गृहः किसानलाई ठूलो राहत
कृषि बजारमा निर्माण गरिएको शीत गृह किसानका लागि ठूलो राहत बनेको छ । बिक्री नभएर आफ्ना उत्पादन खेर फाल्न बाध्य किसानले अब भण्डारणका लागि शीत गृह प्रयोग गर्न सक्ने भएका छन् । कोशी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २०७६/७७ मा बाली विशेष भण्डार गृह निर्माण कार्यक्रम अन्तर्गत उपलब्ध गराएको ४९ लाख ८३ हजार ३०० रुपैयाँ र कृषि बजार व्यवस्थापन समितिको २६ लाख ९७ हजार ८४० रुपैयाँ गरी कुल ७६ लाख ८१ हजार १४० रुपैयाँ लागतमा पहिलो शीत गृह निर्माण गरिएको थियो ।
किसान र व्यापारीलाई सहज भएपछि २०७७/७८ मा पुनः कोशी प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो । त्यसमा कृषि बजार समितिले १७ लाख रुपैयाँ थप गरेर कुल ६७ लाख रुपैयाँ लागतमा अर्को शीत गृहसमेत निर्माण गरिएको छ । हाल शीत गृहमा ६ च्याम्बर छन् । एउटा च्याम्बरमा २५ टनदेखि ३० टनसम्म भण्डारण गर्न सकिन्छ । ६ च्याम्बर मध्ये २५ टन क्षमताको एउटा च्याम्बर किसानका लागि आरक्षणका रूपमा छुट्याइएको अध्यक्ष भट्टराईले जानकारी दिए ।
करोडौंको कारोबार, तर यस वर्ष सुस्त व्यापार
धरान कृषि बजारले अहिले पूर्वी नेपालका पहाडी जिल्लाहरूका लागि भर पर्दो आर्थिक मूलधारमा जोडिने माध्यम बनेको छ । यसले उत्पादन, भण्डारण, वितरण र मूल्य निर्धारणको पारदर्शी प्रणालीमार्फत कृषकलाई न्यायोचित स्थान समेत दिएको छ ।
अध्यक्ष भट्टराईका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १ लाख ५० हजार मेट्रिक टन कृषि उपज बिक्री हुँदा ६ अर्ब ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसमा हरियो तरकारी ८२ हजार ५२२ मेट्रिक टन, फलफूल २९ हजार ८०७ मेट्रिक टन, मसला २१ हजार ६२७ मेट्रिक टन, दलहन ४ हजार ५५१ मेट्रिक टन, खसी बोका ७१९ र अन्य कृषि उपज ९ हजार १३० मेट्रिक टन रहेको थियो ।
यस्तो व्यापक कारोबारले बजारलाई मात्र होइन, किसानको जीवनशैली र आयआर्जनमा पनि सकारात्मक प्रभाव पारेको देखिन्छ । तर, यसवर्ष भने व्यापार अघिल्ला वर्षहरूको तुलनामा कम भएको २०५८ सालदेखि कृषि बजारमा व्यापार गर्दै आएका व्यापारी रमेशकुमार शाहले बताए ।
‘साग सब्जी र तरकारीहरूको खपत घटेको छ, मूल्य पनि घटेको छ । गत वर्ष यही समय प्याज प्रतिकिलो ७० रुपैयाँमा बिक्थ्यो, अहिले भने ३८/४० रुपैयाँमा मात्र बिक्री भइरहेको छ,’ उनले भने ।
‘अघिल्ला वर्षमा चाडपर्वको समयमा बजारमा उपभोक्ताको अत्यधिक चाप देखिन्थ्यो, तर यस वर्ष मान्छेको भीड कम देखिएको उनले बताए । दैनिक उपभोग्य वस्तुको स्थायी मागका कारण बजारबाट वार्षिक करिब १ करोड रुपैयाँदेखि १ करोड ५० लाख रुपैयाँसम्मको कारोबार हुने गरेको छ,’ शाह भन्छन्, ‘विगतमा राम्रो व्यापारका लागि चाडपर्व कुर्नु पर्दैनथ्यो, अहिले दसैँ लाग्दा पनि व्यापार सुस्त छ ।’
व्यापार घट्नुको मुख्य कारण २०७७/७८ को कोरोना महामारी भएपछि अधिकांश व्यापारी गाउँ फर्किएको र धेरैले व्यापार नै छाडेको उनी बताउँछन् ।
क्षेत्रीय व्यापारको मेरुदण्ड
सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडाका अनुसार धरान कृषि उपज बजारले केवल किसानलाई मात्र नभएर सम्पूर्ण क्षेत्रीय व्यापारलाई नयाँ उचाइमा पु¥याएको बताउँछन् ।
‘धरान कृषि बजारले कृषक र व्यापारीबीचको सिधा सम्बन्ध जोडेर व्यापारको पारदर्शिता बढाएको छ,’ महासचिव खतिवडा भन्छन्, ‘उत्पादनको गुणस्तर, मूल्य पारदर्शिता, समयमा नै भुक्तानी र पूर्वाधारको विकासले गर्दा यो बजार अहिले पूर्वी नेपालको कृषि व्यापारको केन्द्र बन्दै गएको छ ।’
कृषि बजारबाट वार्षिक रूपमा ठूलो मात्रामा कृषि उपजको कारोबार हुनु र त्यसबाट किसान तथा व्यवसायी दुवै लाभान्वित हुनु क्षेत्रको आर्थिक सम्भावना व्यापक छ भन्ने प्रमाण रहेको खतिवडा बताउँछन् ।
‘यो बजारले उत्पादन, मूल्य निर्धारण र आपूर्तिको सञ्जाललाई व्यवस्थित बनाउँदै व्यावसायिक क्षेत्रलाई समेत गतिशील बनाएको छ । हामी कृषि बजारलाई व्यापार विस्तारको मेरुदण्डका रूपमा हेर्छौ,’ उनले भने ।
कृषि बजारबाट सिर्जना भएको आर्थिक चक्रले क्षेत्रीय उद्योग, यातायात, होलसेल, खुद्रा व्यवसाय तथा रोजगारीमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारेको छ । पूर्वी पहाडदेखि तराई क्षेत्रका व्यापारीहरू, ढुवानी सेवा प्रदायक र कृषि क्षेत्रसँग सम्बन्धित व्यवसायीहरू यस बजारको विस्तारबाट लाभान्वित भएको महासचिव खतिवडाको भनाइ छ ।
जेनजी आन्दोलनको असर
गत भदौ महिनाको जेनजी आन्दोलनले धरानलगायत विभिन्न सहरी क्षेत्रका व्यापारिक संरचनामा ठूलो असर पुर्यायो । सयौं व्यापारिक केन्द्रहरूमा आगजनी भयो, सम्पत्ति नष्ट भयो, व्यवसाय ठप्प भयो । उद्योग वाणिज्य सङ्घले तत्काल व्यापारीसँग सम्पर्क गरी क्षति मूल्याङ्कन, राहत र व्यवसाय पुनः सञ्चालनका लागि पहल गरेको खतिवडा बताउँछन् । कालोबजारी नियन्त्रण, बजार स्थायित्व, मूल्य पारदर्शिता र व्यावसायिक सुरक्षालाई प्राथमिकतामा राखेर सङ्घले सहकार्य गरिरहेको छ ।
‘व्यापारीलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ । हामी नीति निर्माणदेखि सहुलियत ऋण, बीमा र संरचनागत विकासमा समेत काम गरिरहेका छौँ,’ उनले भने ।
पछिल्लो समय बजारमा देखिएका समस्या जस्तै मूल्य अस्थिरता, आपूर्ति अवरोध, करको दबाब, सुरक्षा चुनौती आदि विषयमा सङ्घले सरोकारवाला निकायहरूसँग नियमित रूपमा संवाद, छलफल र दबाब मार्फत व्यवसायीको पक्षलाई मजबुत बनाउँदै आएको उनको भनाइ छ ।
‘आगामी वर्षहरूलाई सुधार, विस्तार र प्रविधि मैत्री व्यापार प्रणाली निर्माणको अवसरका रूपमा हेरेका छौँ,’ महासचिव खतिवडा भन्छन्, ‘कृषिमा आधारित उद्योग, डिजिटल कारोबार, निर्यातयोग्य वस्तुहरूको उत्पादन, लगानीमैत्री वातावरण, युवा उद्यमशीलता, महिला सहभागिता जस्ता क्षेत्रमा ठूलो सम्भावना छ ।’
उत्पादन घट्दो, आयात बढ्दो
धरान कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष काजी गिरिका अनुसार देशको समग्र परिस्थितिको असर बजारमा पनि परेको छ । अहिले मागअनुसार उत्पादन नहुनाले हामीलाई भारतलगायत छिमेकी मुलुकबाट सामान आयात गर्नुपर्ने अवस्था आएको उहाँ बताउनुहुन्छ । बजार चलायमान राख्न आयात विकल्प बनिरहेको छ, तर दिगो समाधान भनेको स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने उनको तर्क छ ।
कृषि बजारमा पहाडी क्षेत्रका साथै भारत, चीन, बङ्गलादेश, भूटान र तराईका विभिन्न ठाउँबाट उपभोग्य वस्तु आउने गरेको छ । पहाडी भेगबाट अहिलेको ‘सिजन’मा हरियो साग सब्जी आउने गरेको छ । भारतबाट आलु, प्याज र फलफूल, बङ्गलादेश तथा भूटानबाट आलु, चीनबाट च्याउ र लसुन धेरैजसो आउने गरेको छ । तर पनि धरान कृषि उपज बजारले विगत तीन दशक भन्दा बढी समयदेखि पहाडी किसानहरूलाई भर पर्दो बजार उपलब्ध गराउँदै आएको छ । यसले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने सञ्जालको निर्माण गरेको छ ।
पछिल्ला वर्षहरूमा देखिएको उत्पादन घट्ने प्रवृत्ति, सामाजिक अस्थिरता, तथा नीति र संरचनागत चुनौतीका कारण बजारमा केही अवरोध देखिएको छ । यस्ता चुनौतीहरू समाधान गर्न अब किसान, व्यापारी र नीति निर्माताबीच प्रभावकारी समन्वय आवश्यक देखिन्छ । यदि उत्पादन वृद्धि, गुणस्तर सुधार र आपूर्ति प्रणालीलाई सुदृढ गर्न सकियो भने धरान कृषि उपज बजार पूर्वी नेपालकै नमूना कृषि व्यापार केन्द्रका रूपमा लिन सकिन्छ । रासस