जनताले अपेक्षा गरेको सुशासन र जवाफदेहितामा जनप्रतिनिधिहरू उत्तरदायी बन्नुपर्ने

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष निर्मला घिमिरेले जनताले अपेक्षा गरेको सुशासन र जवाफदेहितामा जनप्रतिनिधिहरू अझ उत्तरदायी बन्नुपर्ने खाँचो औंल्याएकी छिन् । उपाध्यक्ष घिमिरेले बडा दसैँका अवसरमा शुभकामना सन्देश दिँदै पछिल्लो समय संविधानको संरक्षण, राजनीतिक स्थायित्व र सुशासनप्रति नागरिकको अपेक्षा बढेको बताइन् । ​​​​​​

राष्ट्रिय सभाले निरन्तर संविधान कार्यान्वयन, संसदको गरिमा र लोकतान्त्रिक संस्कृतिको सुदृढीकरणमा ध्यान दिइरहेको उल्लेख गर्दै उहाँले पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बीच राष्ट्रिय सभालाई संसदको जिम्मेवारी र संवैधानिक दायित्व पूरा गर्न क्रियाशील बनाउने दायित्व थपिएको बताइन् । उनले मुलुकलाई स्थिर, शान्त र समृद्ध बनाउन सबै राजनीतिक दल, नागरिक समाज, आम सञ्चारमाध्यम र प्रत्येक नागरिकको सक्रिय योगदान अपरिहार्य रहेको धारणा व्यक्त गरिन् । 

‘नेपाल बहु जातीय, बहुभाषिक र बहु धार्मिक समाज भएको राष्ट्र हो । हाम्रो संस्कृति र परम्पराले विविधतालाई आत्मसात गर्दै सामूहिक शक्ति निर्माण गर्ने अवसर प्रदान गरेको छ । बडादसैँ जस्तो चाडपर्वले परिवार, समाज र राष्ट्र बीचको सम्बन्धलाई अझ मजबुत पार्ने काम गर्दछ । यस पर्वले हाम्रो सामाजिक मूल्य, सहिष्णुता र एकताको भावनालाई अझ गहिरो बनाउन सहयोग गर्नेछ । बडादसैँको पावन अवसरमा सबैलाई शुभकामना,’ उपाध्यक्ष घिमेरेको सन्देशमा उल्लेख छ । 

Share News