काठमाडौं । बडादसैँको चहलपहलसँगै चितवनका बजार चलायमान भएका छन् । चितवनको नारायणगढ बजारमा किनमेल गर्नेहरूको धेरै भीड देखिन्छ । दसैँको समयमा विशेषगरी कपडा, जुत्ता चप्पल, खाद्यान्न, भाँडाकुँडा, सुन चाँदीलगायत पसलमा बढी भिड देख्न सकिन्छ ।
यहाँको मिलनरोड, सहिद चोक, कमलनगर, पुतलीबजार, लायन्स चोकलगायत स्थानमा भीडभाड बढेको छ । दसैँमा गाउँघर जानेहरू आवश्यक सामान किन्न र बाहिरबाट आएकाहरूको उपस्थितिले चहलपहल हुने गर्छ ।
नारायणगढ बजारमा बिहानैदेखि साँझ अबेरसम्म भीडभाड हुने गरेको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमन श्रेष्ठले बताए । बजारमा चहलपहल बढे पनि अपेक्षाकृत व्यापार भने हुन नसकेको उनले बताए ।
नारायणगढ बजारमा घटस्थापनापछि भीडभाड र चहलपहल बढेको फेन्सी व्यवसायी सङ्घ चितवनका अध्यक्ष रामप्रसाद पौडेलले बताए ।
‘दसैँ नजिकिएसँगै बजारमा निकै भीड बढेको छ । पछिल्लो समय देशमा भएको राजनीति घटनाक्रम र आन्दोलनका कारण चहलपहलअनुसार व्यापार भने छैन,’ उनले भने ।
पछिल्लो समय सुनचाँदी क्षेत्रमा व्यापार बढ्न सकेको छैन । मूल्य निरन्तर बढेपछि विगतमा जस्तो सुनचाँदीको व्यापार नभएको व्यवसायी बताउँछन् । न्यू लोकमान एण्ड सन्सका सञ्चालक ज्ञानेन्द्रमान शाक्य यो क्षेत्र विदेशमा रहेकाहरूले यहाँ आएर विवाह गर्ने र सुनचाँदी किन्ने भएकाले केही राहत मिलेको बताउँछन् ।
‘विगतमा जस्तो सुनचाँदी किन्नेहरू छैनन् । पुराना सुन ल्याउने र नयाँ बनाएर लैजानेको सङ्ख्या बढी छ । मूल्य बढ्ने आशमा पुराना सुन बिक्री गर्नेहरू भने घटेका छन्,’ उनले भने, ‘विगतको जस्तो व्यापार नभए पनि चाडपर्व भएका कारण अरु समयको भन्दा बढी चहलपहल छ ।’