काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विभिन्न माध्यमबाट आएका सयौं गुनासाहरूको सम्बोधन भएको बताएका छन् । खनालले आफू अर्थमन्त्री बनेपछि ह्वाट्सएप, इमेल लगायत माध्यमबाट प्राप्त ३ हजार ८ सय गुनासाहरुको सम्बोधन भएको जानकारी दिएका हुन् ।
उनका अनुसार २ हजार २ सय ह्वाट्सएप सन्देश, १ हजार ५ सयभन्दा बढी टेक्स्ट सन्देश र केही १२१ ईमेलबाट प्राप्त गुनासाको प्रतिक्रिया दिइएको छ । अझै केही गुनासा बाँकी रहेकाले दसैँको टिका अगाडि नै सक्ने लक्ष्य रहेको उनको भनाइ छ ।
अर्थ मन्त्रालय मातहतका नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नुपर्ने कार्य नगरेको, नगर्नुपर्ने कार्य गरेको वा अनुचित कार्यको लागि दवाब दिएको एवम् घुस तथा रिसवत माग गरेको लगायतका कुनै पनि प्रकारको अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाई सिर्जना भएको अवस्थामा आफूलाई गुनासो गर्न उनले आग्रह गरेका छन् ।