घर जलेपछि पूर्वराष्ट्रपति भण्डारी छोरीको घरमा सरिन्, दशैंमा टिका नलगाउने

काठमाडौं । पूर्व राष्ट्रपति विद्या देवी भण्डारीले यस वर्षको दशैंमा टिका नलगाउने भएकी छन् । भण्डारीका भाई तेजेन्द्र पाण्डेको हालै निधन भएकाले उनले यस वर्ष दशैंमा टिका नलगाउने भएकी हुन् ।

भदौ २४ गते पूर्व राष्ट्रपति भण्डारीको निजी निवासमा भएको तोडफोड र आगजनीको घटनापछि उनी हाल कान्छी छोरीको बुढानिलकण्ठस्थित घरमा बस्दै आएकी छन् । 

भाइको निधनले शोकमा रहेकी भण्डारीले यसपटकको दशैँ सामान्य भेटघाट गरेर मनाउने निर्णय गरेको स्वकीय सचिव राजकुमार राईले जानकारी दिए । 

राजनीतिक भेटघाटहरूमा व्यस्त रहेकी भण्डारीले दशैँ पनि भेटघाटमै बिताउने तयारी गरिरहेको उनले बताए । 

‘घटस्थापनाको दिन उहाँ भोजपुर समाजको कार्यक्रममा सहभागी हुनुभएको थियो । उक्त कार्यक्रममा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई लगायत नेताहरूसँग उहाँले छलफल गर्नुभएको थियो, दशैं आसपास भेटघाटमै व्यस्त हुनुहुन्छ,’ राईले भने । 

सचिव राईका अनुसार दशैंभर कुन-कुन कार्यक्रममा सहभागी हुने भन्ने तालिका अझै तय भएको छैन । पूर्व राष्ट्रपति भण्डारीका दुई छोरी निशाकुसुम र उषाकिरण तथा एक नातिनी छन् । नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादव उनका सम्धी हुन् ।  
 

Share News