काठमाडौं । अर्घाखाँचीको सन्धीखर्क ९ टारीमा जीप (फोर्स गाडी) दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
सन्धीखर्क-ढोरपाटन सडक खण्डमा बुटवलबाट गुल्मीको पुर्कोट दह तर्फ जाँदै गरेको लु १ ज ४७२३ नं. को सो जीप आज बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिए । उनका अनुसार सोही घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका-६ पुर्कोटका १० वर्षीय अरुणा थापा र मदाने-७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसीले बताए । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । एकजना घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ ।