यस वर्ष ५ हजार रुपैयाँसम्म ​​​​​​​सस्तियो भेडा च्याङ्‍ग्राको मूल्य

काठमाडौं । दसैँ पर्वका लागि मुस्ताङबाट बिक्री गर्न बजारमा ल्याइएका भेडा च्याङ्ग्राको मूल्य यस वर्ष सस्तिएको छ । व्यापारी र उपभोक्ताका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा भेडा च्याङ्ग्राको मूल्य ५ हजार रुपैयाँ र प्रतिकिलोग्राम जिउँदाको मूल्य ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म घटेको हो ।

बेनीका भरत रकालले गत वर्ष ४० हजार रुपैयाँ तिरेर भेडा च्याङ्ग्रा किनेकोमा यसपालि ३५ हजार रुपैयाँमै पाइएको बताए । 

‘३ वर्षअघि रोज्जा च्याङ्ग्राको मूल्य प्रतिगोटा ५२ हजार रुपैयाँ र च्यालु (हिमाली भेडा) को मूल्य ४०/४२ रुपैयाँ हजार थियो,’ उनले भने, ‘मूल्य सस्तीएपछि लेकाली भेडा च्याङ्ग्राको मासुका परिकार खाएर दसैँ मनाउने मध्यम वर्गका उपभोक्ताको रहर पुरा गर्न सहज भएको छ ।’

नेपाल चौपाया खरिद बिक्री संघका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले डोल्पा, मुगु, जुम्ला र तिब्बतबाट पनि च्याङ्ग्रा आउनु, मुस्ताङमा च्याङ्ग्रा पालन बढ्नु, ‘जेनजी पुस्ता’को आन्दोलनपछि देशको असहज परिस्थितिका कारण उपभोग घट्ने डरले मूल्य घटेको बताए ।

श्रेष्ठको समूहले पछिल्लो १० दिनमा मुस्ताङबाट २ हजार ५ सय च्याङ्ग्रा काठमाडौं पुर्याएका छन् । गत वर्ष काठमाडौंमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो १ हजार ३ सय रुपैयाँका दरले बिक्री गरेकोमा यसपालि १ हजार २५० रुपैयाँका दरले बिक्री गरेको श्रेष्ठले बताए ।

दसैँका लागि म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौं, चितवन र बुटवलका बजारमा झारिएका भेडा च्याङ्ग्राको मुख्य स्रोत मुस्ताङ, जुम्ला, मुगु र डोल्पा हो । तातोपानी र रसुवाको नाका बन्द भएकाले ठूला सहरमा यसपालि मुस्ताङबाट मात्र भेडा च्याङ्ग्रा मात्र झरेका छन् ।

पोषिलो, स्वास्थ्य प्रवर्द्धक, शक्ति वर्द्धक, स्वादिलो हुने भएकाले चाडपर्वमा जडिवुटीयुक्त बुकीमा चरेका हिमाली च्याङ्ग्राको मासु उपभोग गर्ने चलन रहेको बेनीका नेत्रराज सुवेदीले बताए ।

यस बर्ष ३५ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको १४ हजार ६६८ भेडा च्याङ्ग्रा बिक्री भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुस्ताङले जनाएको छ । ७ हजार ६६८ मुस्ताङका किसानले पालेका, ६ हजार ८६८ डोल्पा, मुगु र जुम्लाबाट आएका भेडा च्याङ्ग्राको स्वास्थ्य परिक्षण गरेर बजार पठाउन अनुमति दिएको केन्द्रका प्रमुख लालमणि अर्यालले बताए । 

किसानले अधिकतम च्याङ्ग्रालाई ३५ हजार रुपैयाँ र भेडा (च्यालु) लाई २८ हजार रुपैयाँमा बेचेका छन् । पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपभोगी मानिन्छ । शरिरमा लामो रौ भएका च्याङग्रा रैथाने हुन् । तिब्बतबाट ल्याएको च्याङ्ग्राको शरिरमा रौ छोटो हुन्छ । लोमानथाङ गाउँपालिका-३ नामग्यालका किसान तेन्जीङ गुरुङले च्याङ्ग्रा पालनबाट जीविकोपार्जन गरेको बताए । यसपाली ५० वटा च्याङ्ग्रा बिक्री गरेको बताए । मुस्ताङी भेडा च्याङ्ग्राको ठूलो बजार पोखरा हो ।

म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, लमजुङका बजारमा पनि भेडा च्याङ्ग्राको खपत बढी हुने गरेको छ । मुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमानथाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएका छन् । उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङ्ग्रा पालन हो ।

हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट बचाउनु च्याङ्ग्रा पालक किसानको प्रमुख चुनौती हो । यसैगरी पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रिएकाले भेडा च्याङ्ग्राको लागि आहाराको अभाव हुन थालेको छ । हिउँदमा आवश्यकता भन्दा बढी हिउँ पर्दा भेडा बाख्रा आहाराको अभावमा मर्ने समस्या पनि छ ।

Share News