स्रोत नखुलेको नगद भेटिए अनुसन्धान हुनेछ : अर्थ मन्त्रालय

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको असामान्य परिस्थितिबाट आगजनी हुँदा विभिन्न स्थानमा नगद समेत जलेको वा जलेको अवस्थामा भेटिएको भन्ने समाचारप्रति अर्थ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । मन्त्रालयले आइतबार सार्वजनिक गरेको सूचनामा यस विषयलाई लिएर आवश्यक जानकारीसमेत दिएको छ ।

अर्थ मन्त्रालयले नेपाल सरकारले वित्तीय कारोबारलाई विद्युतीय प्रणालीमार्फत गर्न प्रोत्साहित गरिरहेको पुनः स्मरण गराएको छ । सूचनामा भनिएको छ– 'विद्युतीय भुक्तानी प्रणालीमार्फत जुनसुकै परिमाणको कारोबार गर्न सकिने भएकाले ठूलो मात्रामा नगद सञ्चय गरेर राख्नु पर्ने आवश्यकता छैन । सम्भव भएसम्म सम्पूर्ण कारोबार विद्युतीय माध्यमबाट गर्न सबैमा आग्रह गरिएको छ ।'

मन्त्रालयले प्रचलित कानुनबमोजिम आर्जन भएको र स्रोत खुलेको रकम जुनसुकै परिमाणमा सुरक्षित राख्न वा उपयोग गर्न कुनै वाधा नभएको स्पष्ट पारेको छ । तर, स्रोत नखुलेको रकम लुकाइराखेको वा सुरक्षित राखेको आशंकामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको पनि सूचनामा उल्लेख छ ।

विद्यमान कानुनी व्यवस्था अनुसार कुनै व्यक्ति, फर्म वा संस्थाले एकपटकमा दश लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तु खरिद–विक्री गर्दा अनिवार्य रूपमा बैंकिङ उपकरण प्रयोग गर्नुपर्नेछ । त्यस्तै, नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजार वा सो बराबरको भारतीय रुपैयाँ तथा अन्य विदेशी मुद्रा घोषणा नगरी ल्याउन सक्नेछन् । सोभन्दा बढी रकम भएमा भन्सारमा घोषणा गरी प्रमाणित गर्नुपर्नेछ ।

यस्तै, नेपाली नागरिकले विदेशमा रोजगारी, व्यवसाय वा सटही सुविधाबाट प्राप्त विदेशी मुद्रा मध्ये अधिकतम अमेरिकी डलर १ हजार ५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा भविष्य उपयोगका लागि नगदमा राख्न सक्ने कानुनी व्यवस्था छ । यी कानुनी व्यवस्थाबाहेक स्रोत नखुलेको नगद भेटिएमा प्रचलित कानुनअनुसार अनुसन्धान तथा कारबाही गरिने मन्त्रालयले जानकारी गराएको छ ।

Share News