काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सुधारका लागि विश्वविद्यालय नेतृत्वलाई औपचारिक निर्देशन दिएका छन् ।
आइतबार मन्त्री पुनले सामाजिक सञ्जालमार्फत यस्तो निर्देशन दिएको जानकारी दिएका हुन्।
उनले सामाजिक सञ्जालमा मन्त्रालयमा आयोजित विशेष बैठकमा भिसी, रजिस्ट्रार, रेक्टर, डीनहरू तथा विभिन्न संकायका प्रतिनिधिहरूसँग आफूले विश्वविद्यालयको गुणस्तर अभिवृद्धि र यसलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयमा रूपान्तरण गर्ने उपायबारे विस्तृत छलफल गरेको उल्लेख गरेका छन् ।
बैठकमा पुनले त्रिविको गुणस्तर सुधारेर यसलाई कसरी अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयमा रूपान्तरण गर्न सकिन्छ ? भनी प्रश्न गरेका थिए ।
उक्त प्रश्नको जवाफमा विश्वविद्यालयका शीर्ष पदाधिकारीहरू र फ्याकल्टी प्रतिनिधिहरूको एउटै धारणा आएको थियो, ‘विश्वविद्यालयलाई राजनीतिमुक्त क्षेत्र नबनाएसम्म गुणस्तरमा वास्तविक सुधार सम्भव छैन वा अत्यन्त कठिन हुनेछ ।’
सबैको एउटै धारणा आएपछि पुनले तत्कालै निर्देशन दिएका थिए ।
उनले दशैंपछि विश्वविद्यालयलाई राजनीति–मुक्त बनाउनका लागि ठोस र व्यावहारिक कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् ।
यतिमात्र नभई उनले सुधार प्रक्रिया अब केवल कागजमा मात्र सीमित नभई यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक कदम चालिनुपर्नेमा पनि जोड दिए ।
मन्त्रालयका अनुसार निकट भविष्यमै सरोकारवालासँग थप परामर्श गरी विश्वविद्यालय सुधारका लागि स्पष्ट रोडम्याप तयार पारिने र चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने तयारी गरिएको छ ।