काठमाडौं । लामो समयदेखि विवादित र गिजोलिँदै आएको डेडिकेटेड र ट्रंकलाइनको विषय फेरि उठेको छ । नेपाल विद्युत प्राधिकरणले उद्योगीहरूलाई कात्तिक १७ गतेभित्र महसुल बुझाउन अल्टिमेटम तोकेको छ ।
प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत सप्लाइ लिएका उद्योगी व्यवसायीहरूलाई कात्तिक १७ गतेसम्म बक्यौता विद्युत महसुल बुझाउन ताकेता गरेको हो ।
यसअघि डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युत उपभोग गरेवापत विसं २०७२ माघदेखि विसं २०७५ वैशाखसम्मको विद्युत महसुल बक्यौता रहेका ग्राहकलाई प्रशासकीय पुनरावलोकनको लागि २०८२ जेठभित्र निवेदन दिन सक्ने म्याद कायम गरेको थियो ।
तर, असोज १० गते प्राधिकरणमा बसेको सञ्चालक समितिको बैठकले सो म्याद कायम गर्ने निर्णय तथा प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण काम कारबाहीहरू बदर गरेको हो ।
साथै, असोज १० गतेको बैठकले २०८१ असार ३१ गते, असोज २४ गते र कात्तिक २९ गतेको सूचना अनुसार नै २१ दिन समय थप गरेर आगामी कात्तिक १७ गतेभित्र भुक्तानी गर्न समयावधि थप गरेको प्राधिकरण संचालक समितिले निर्णय गरेको हो ।
मासिक किस्ताबन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्ताहरूलाई बढीमा २८ महिनाको किस्ताबन्दीको सुविधा उपलब्ध गराइने प्राधिकरणले जनाएको छ । यदि कात्तिक १७ गतेभित्र बक्यौता महसुल बुझाउन नआएमा नेपाल विद्युत प्राधिकरण, विद्युत महसुल संकलन विनियमावली, २०७८ बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।