दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहने, अष्‍टमीदेखि दसैँसम्म यस्तो छ देशभर मौसम

मनसुनी वायुको प्रभाव कायमै रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको दसैँका अवसरमा मनसुनको अवस्था समेटेर आज दसैँ विशेष मौसम बुलेटिन जारी गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल मनसुन वायुको प्रभाव केही कमजोर रहे पनि नेपालबाट बहिर्गमन भइसकेको छैन ।

हालको मौसम विश्लेषण अनुसार यस वर्षको दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने आज साँझ जारी विशेष बुलेटिनमा उल्लेख छ । नेपालमा सरदरमा अक्टोबर २ तारिखमा मनुसन बहिर्गमन हुने भए पनि प्रत्येक वर्ष सो मिति भने फरक-फरक हुने विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए । 

यही असोज १४ (अष्टमी) का दिन बागमती र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । असोज १५ (नवमी) का दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कायस्थले जानकारी दिए । उनका अनुसार असोज १६ (दशमी) का दिन बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा साथै मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस वर्षको दसैँको अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने भएकाले मौसमको अद्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरिएको विभागका सूचना अधिकारी कायस्थले बताए । उनले विभागबाट जारी हुने सूचना अद्यावधिक गरी आवश्यक काम कारबाही गर्न अनुरोध गरे । 

Share News