काठमाडौं । पूर्वप्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूले अध्यक्ष पद त्याग गरेको घोषणा गरेका छन् ।
शुक्रवार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब आफू अध्यक्ष नरहेको घोषणा गरेका हुन् ।
उनले आफू अब महाधिवेशन आयोजक समितिको संयोजक मात्रै रहेको बताए । उनले भने, ‘आज केन्द्रीय समितिको बैठक सम्पन्न भयो । अब म अध्यक्ष रहिनँ, अब म संयोजक मात्रै हो ।’
माओवादी केन्द्रले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने भएको छ ।
शुक्रवार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले पार्टीको पदाधिकारी हटाएर अध्यक्ष दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समिति पनि गठन गरिएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनले सो महाधिवेशन आगामी मंसिरको अन्तिम सातासम्म सम्पन्न गर्ने निर्णय गरिएको पनि जानकारी दिए ।
बैठकले निर्वाचनमा जाने निष्कर्ष निकाल्दै त्यसका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने पनि निर्णय गरेको छ ।
बैठकले जेनजी आन्दोलनको क्रममा क्षति भएको सार्वजनिक तथा पार्टीको संरचना निर्माणका लागि स्वयंसेवक परिचालन गर्ने पनि भएको छ ।
माओवादी केन्द्रले नेताहरूको सम्पन्न छानबिन गर्नका लागि सम्पत्ति छानविन आयोग पनि गठन गर्ने भएको छ । प्रवक्ता सापकोटाकाअनुसार तत्काल छानबिन समिति बनाएर नेताहरूको सम्पत्ति छानबिनको काम सुरु गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी केन्द्रीय कार्यालय, सचिवालय र नेताका परिवारको व्यवस्थापनको कामलाई नयाँ ढंगले अघि बढाउने निर्णय पनि गरिएको माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रको नयाँ अध्याय : पुनर्संरचना, महाधिवेशन र निर्वाचनमा जोड