देउवा दम्पत्तिको दशैं अस्पतालमै

डिस्चार्ज हुन समय लाग्ने

फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाको यस वर्षको दशैं अस्पतालमै हुने भएको छ । गत भदौ २४ को जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणमा परेका देउवा दम्पतीको दशैं अस्पतालमै हुने भएको हो । 

अहिले सभापति देउवा र उनको पत्नी आरजु देउवा राणा अस्पतालमै अपचाररत छन् । आन्दोलनकारीले बुढानीलकण्ठमा रहेको निवास आगजनी गरेर उनीहरुलाई घरबाट निकालेर कुटपिट समेत गरेका थिए । 

देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार देउवा दम्पत्तिको दशैं सम्भवतः अस्पतालमै हुनेछ । 

‘उपचाररत हुनु भएकाले स्वास्थ्य नै प्रमुख प्राथमिकता हो, चिकित्सकीय निगरानीमा बस्नुपर्ने भएकाले सार्वजनिक जमघट वा राजनीतिक कार्यक्रममा सक्रिय हुने सम्भावना न्यून छ, दशैं पनि अस्पतालमै हुने देखिन्छ,’ स्वकीय सचिव देउवाले विकासन्युजसँग भने । 

उनका अनुसार निवासमा भएको आगजनी र आक्रमणले देउवा र उनको परिवारलाई गहिरो मानसिक आघात पु¥याएको छ । यसले देउवालाई शारीरिक मात्र नभई भावनात्मक रूपमा पनि दशैंको उल्लासबाट टाढा राख्ने उनको भनाइ छ । 

सामान्यतया दशैं नेपालीहरूका लागि पारिवारिक मेलमिलाप, आत्मिक सन्तोष र उत्सवको समय हो । तर देउवाका लागि यो पर्व निकै तनाव, असुरक्षा र अनिश्चितताबीच बित्ने देखिएको छ । 

यसपटकको दशैंमा पार्टीभित्रै बढ्दै गएको नेतृत्व हस्तान्तरणको दबाबले देउवालाई चाडपर्वमा पनि राजनीतिक रणनीति र भविष्यको मार्गचित्रबारे सोच्न बाध्य बनाउने देखिएको छ । 

Share News