काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान अन्तरिम सरकारले मुख्य राजनीतिक दलका शीर्ष नेताहरुलाई जेल हाल्न सक्ने संकेत गरेक छन् । बिहीबार माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले यस्तो संकेत गरेका हुन् ।
उनले जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरुलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्न सक्ने धारणा उनले राखेका हुन् ।
‘गैरदलीय सरकार बनेपनि हाम्रा उपलब्धिहरु माथिको संकट भने टरेको छैन । विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाउने र आफू अनुकूल निर्वाचन र परिणामबाट आफ्नो कठ्पुतली पात्रमार्फत् स्वार्थ सिद्ध गर्ने प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलहरु बाँकी नै रहेका छन्, भ्रष्टाचार छानबिनका नाममा जेल हाल्न सक्ने सम्भावना रहन्छ,’ उनले भने ।
उनले लोकतन्त्रको रक्षाका लागि सम्पूर्ण लोकतान्त्रिक देशभक्त शक्तिहरुसँग कार्यगत एकता र सहकार्य गर्ने गरी पार्टीले नयाँ एतिहासिक पहल र भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
त्यसैले यो समग्र परिस्थितिको वस्तुगत समीक्षाका आधारमा पार्टीले आगामी रणनीति तय गर्नुपर्ने उनको भनाइ छ ।