मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा पहिरो पन्छाउने काम तीव्र, शुक्रबार सञ्चालना आउने

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला नजिक झरेको पहिरो पन्छाउने काम तीव्र गतिमा भइरहेको छ । सडक डिभिजन कार्यालयका अनुसार नारायणगढतर्फबाट १ एक्साभेटर र १ लोडर तथा मुग्लिनतर्फबाट १ एक्साभेटर र २ लोडर प्रयोग गरी लगातार पहिरो पन्छाउने काम भइरहेको हो ।

यसका अतिरिक्त दुवै दिशामा १/१ ब्याक-हो लोडर तयारी अवस्थामा राखिएको छ । काम गर्ने क्षेत्र साँघुरो भएकाले एकैपटकमा दुवैतर्फबाट अधिकतम पाँचवटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको कार्यालयले जनाएको छ ।

हालसम्म करिब ६० प्रतिशत पहिरो पन्छाइएको डिभिजन कार्यालयले जनाएको छ । 

कार्यालयले कुनै अन्य अवरोध नआए आज रातिसम्ममा पहिरो पूर्णरूपमा हटाई सडक आवागमन सुचारु गर्ने लक्ष्य लिएको जनाएको छ ।

Share News