काठमाडौं । नेकपा एमालेका नेता कर्ण थापाले देश र जनतालाई केन्द्रबिन्दु बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले नोक्सानी बेहोरेपछि पनि गल्ती स्वीकार्न नचाहने मानिसलाई मूर्ख सम्बोधन गर्दै त्यस्ता व्यक्तिलाई समाजबाट अलग गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
नेता थापाले एमाले अध्यक्ष केपी ओलीलाई अप्रत्यक्ष संकेत गर्दै पार्टीमा नोक्सानी हुनबाट जोगाउने व्यक्तिलाई नै नेतृत्वको रूपमा स्थापित गर्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन्।
थापाले ओलीसँगै अहिलेको जटिल अवस्थामा प्रष्ट विचार राख्न नसक्नेहरूलाई पनि व्यङ्ग्यसमेत गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले भने, ‘हर परिस्थितिमा अलमलमा परिरहने मानिस सुषुप्त हुन्छन् । उनीहरूलाई सही दिशानिर्देश दिन सक्नुपर्छ । नेतृत्व भनेकै सही विश्लेषण गरेर सही निष्कर्ष निकाल्ने क्षमता हो ।’
देश निर्माण हावादारी गफले सम्भव नहुने स्पष्ट पार्दै थापाले सही नीतिगत दिशा, व्यवहारिक दृष्टिकोण र जनमुखी योजनाबाट मात्रै मुलुकलाई अगाडि बढाउन सकिने उल्लेख गरे ।
‘देश र जनता नै हाम्रो राजनीतिको केन्द्रबिन्दु हुनुपर्छ । त्यसैको आधारमा मात्र राष्ट्रिय समृद्धिको बाटो खुल्छ,’उनले थपे ।