काठमाडौं । प्रतिनिधि सभा भङ्ग भएर देश मध्यावधि निर्वाचनमा गए पनि राष्ट्रिय सभाको भने नियमित निर्वाचन हुने भएको छ ।
यस्तै, मनाङ्ग प्रदेश सभाको उपनिर्वाचन पनि तोकिएकै समयमा हुने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधि सभा विघटन भएर नयाँ निर्वाचनको मिति तोकिएसँगै रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन भने रद्द भएको आयोगले यसअघि नै सूचना जारी गरेर जानकारी गराएको छ ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन अधिकारीका अनुसार फागुन २१ को निर्वाचनको तयारीसँगै राष्ट्रिय सभाका एक तिहाई सदस्यको माघ २० मा हुने निर्वाचनको तयारी पनि आयोगले गरिरहेको छ ।
यसका साथै मनाङको प्रदेश सभा उपनिर्वाचन कार्तिक १७ मै गर्नेगरी आयोगले तयारी गरेको अधिकारीले जनाए।