काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टमा बिहीबार भएको बाँडफाँडमा हजारौं आवेदकमध्ये सीमितले मात्र सेयर पाएका छन् ।
कम्पनीले यसअघि श्रम स्वीकृति लिएका वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ९ हजार ९ सय ३८ कित्ता सेयर निष्काशन गरेको थियो । सो आईपीओमा ६४ हजार ८ सय १२ जनाले आवेदन दिएका थिए । तर, विभिन्न कारणले ६४ हजार ७ सय ९९ जनाको आवेदन मात्र योग्य ठहरिएको छ ।
मागभन्दा बढी आवेदन परेकाले बाँडफाँड गोलाप्रथाबाट गरिएको हो । यस क्रममा ३० हजार ९ सय ९३ जनाले मात्र सेयर प्राप्त गरेका छन् । तीमध्ये ८ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ता सेयरमा सीमित भएका छन् ।
यसअघि कम्पनीले स्थानीय बासिन्दाका लागि छुट्याइएको आईपीओको बाँडफाँड सम्पन्न गरिसकेको थियो । वैदेशिक रोजगारी र स्थानीय समूहको बाँडफाँडपछि अब कम्पनीले सर्वसाधारणका लागि आईपीओ ल्याउने तयारी गरेको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साउन १३ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो । सेबोनको स्वीकृति अनुसार कम्पनीले कुल ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बजारमा ल्याउनेछ ।