काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कर्मचारीहरूले नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र अध्यक्षमाथि बिचौलियाको आरोप लगाएका छन् । नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले प्रेस विज्ञप्ति जारी गर्दै सीईओ र अध्यक्षलाई बिचौलियाको अनुचित दबाब, प्रभाव र निर्देशनमा काम गर्दै आएको बताए ।
थापाका अनुसार राजनीतिक दलको कार्यकर्ता, राजनीतिक प्रभाव र भागबण्डाका आधारमा नेप्सेको सञ्चालक समितिको अध्यक्षमा हेमन्त बस्याल र सीईओमा चुडामणि चापागाईं नियुक्त भएका छन् । अध्यक्ष बस्यालको कन्सल्टेन्सी र नेप्सेबीच पुरानो भुक्तानीसम्बन्धी विवाद रहेकै अवस्थामा उनी नेप्सेको अध्यक्षमा नियुक्त हुनु स्वार्थ बाझिने विषय रहेको उनले आरोप लगाए ।
‘पुरानो हिसाब मिलाउने गलत उद्देश्यका साथ उनी (बस्याल) नेप्सेमा प्रवेश गरेको देखिन्छ । केही वर्षअघि तत्कालीन मन्त्रीको दबाब प्रयोग गरेर नेप्सेसँग कुनै औपचारिक सम्झौता वा खरिद कानुनअनुरूप प्रक्रिया बिना कुनै देखावटी परियोजनाका लागि ‘परामर्श सेवा’ प्रदान गरेको भन्दै २५ लाख रुपैयाँ भुक्तानी माग्दा नेप्सेले अस्वीकार गरेको थियो,’ थापाले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘सोही विवाद जारी रहँदा भुक्तानी नपाएपछि उनले (बस्याल) समाजिक सञ्जाल तथा इमेलमार्फत नेप्सेको तत्कालीन व्यवस्थापनमाथि अनर्गल आरोप लगाउँदै धितोपत्र बजारप्रति अविश्वास फैलाउने र संस्थाको छवि धुमिल पार्ने काम गरे ।’
स्वार्थको द्वन्द्वको कुरा गर्ने स्वयम् बस्यालले तत्काल राजीनामा दिनुपर्ने र उनलाई नियुक्त गर्ने प्रक्रियामा संलग्न सबैलाई छानबिनको दायरामा ल्याउनु पर्ने थापाको माग छ । नेप्सेलाई भित्रैबाट कमजोर बनाई बजारमा सक्रिय स्वार्थी समूहलाई मार्ग प्रशस्त गर्नु उनको अर्को उद्देश्य रहेको र सो अनुरूप कर्मचारीबीच फुट ल्याउने, कसैलाई अपमान गर्ने, कसैलाई उक्साउने, धम्क्याउने र महँगा तालिमको प्रलोभन दिने जस्ता कार्य गर्दै कार्य वातावरण बिगार्न थालेको थापाले आरोप लगाए ।
‘ठूला खरिद प्रक्रियामा अनावश्यक हस्तक्षेप गर्ने, सोबाट प्राप्त कमिसन तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई चढाउने स्वार्थसहित बस्याल नेप्सेमा प्रवेश गरेको आशंका बलियो छ । नयाँ प्रणाली भित्राउन नसक्ने, विद्यमान प्रणालीलाई स्तरोन्नति गर्न पनि असमर्थ बनाउने गरी नेप्सेलाई जटिलतामा पार्ने खेल सुरु गरिसकेका छन,’ उनले भने, ‘६ महिनाअघि नियुक्त सीईओ चापागाई एक्लैले गर्न नसकेको कामलाई समर्थन गर्न बस्याल ‘अतिरिक्त शक्ति’का रूपमा नेप्सेमा आएको देखिन्छ ।’
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टका सीईओको रूपमा मासिक ५ लाख रुपैयाँ तलब र अन्य सुविधा छोडेर नेप्सेमा प्रतिबैठक २ हजार ५०० रुपैयाँ भत्ता बुझ्ने गरी आउनुले नै बस्यालको नियतप्रति ठूलो प्रश्न खडा गरेको कर्मचारीहरूको आरोप छ । आर्थिक चलखेल गर्ने, कर्मचारी फुटाउने, प्रविधि बिगारेर सर्वसाधारणमा आक्रोश बढाउने नियतले प्रवेश गरेका बस्याललाई नेप्सेका कर्मचारीहरूले अध्यक्षका रूपमा स्वीकार गर्न नसक्ने थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘बस्याल नेप्सेसँग स्पष्ट रूपमा स्वार्थ बाझिएको पात्र भएकाले हाम्रो लागि अस्वीकार्य छन् । त्यसैगरी सीईओ चापागाईंको कार्यकाल ६ महिना बितिसक्दा पनि नेप्सेको पुनर्संरचना, अन्तर्राष्ट्रिय प्रविधि ल्याउने तथा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्नेतर्फ भन्दा पनि बिचौलियाको अनुचित दवाव, प्रभाव र निर्देशनमा काम गर्दै आएको देखिन्छ,’ जारी विज्ञप्तिमा उल्लेख छ, ‘संस्थाको स्पष्ट कार्ययोजना तयार गर्न असक्षम र असमर्थ भई कमजोर निर्णय क्षमताको कारण सीईओबाट आगामी दिनहरूमा संस्था सुधार गर्ने तर्फ कुनै पहल कदमीको सम्भावना समेत शून्य प्राय छ ।’
नेप्सेका कर्मचारीहरुले हातमा कालोपट्टी बाँध्ने, धर्नामा बस्ने, सीईओको कार्यकक्षमा तालाबन्दी गर्ने र अध्यक्ष र सीईओको राजीनाको मागसहित चरणबद्ध सङ्घर्ष कार्यक्रम घोषणा गरेका छन् ।
अध्यक्ष बस्यालले लेनदेनसँग कुनै विवाद नरहेको बताए । ‘कर्मचारीको बोनसको विवादलाई लिएर विषयान्तर गर्न खोज्दै हुनुहुन्छ, म नितान्त नेप्सेको हितका लागि आएको हुँ, मेरो कुनै स्वार्थ पनि छैन,’ उनले दावी गर्दै भने ।