काठमाडौं । विशेष महाधिवेशनलाई लिएर नेपाली कांग्रेसभित्र कित्ताकाट सुरु भएको छ । महामन्त्री गगन थापाले बदलिँदो परिस्थितिमा नेतृत्व परिवर्तन गर्ने उद्देश्यअनुरूप विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सुरु गरेका थिए ।
उक्त हस्ताक्षर अभियानलाई काउन्टर गर्दै पार्टीका अरू केही नेताहरूले विशेष महाधिवेशनको विपक्षमा हस्ताक्षर अभियान सुरु गरेका छन् ।
पार्टीका नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितका नेताहरूले विशेष महाधिवेशनको विपक्षमा हस्ताक्षर अभियान सुरु गरेका हुन् ।
उक्त अभियानमा पार्टीको सुदूरपश्चिम प्रदेश समितिका नेताहरूको संलग्नता देखिएको छ ।
सुदूरपश्चिमका कार्यवाहक सभापति लोकराज अवस्थी, केन्द्रीय सदस्य सुशीला मिश्रसहितका नेताहरूले विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने भन्दै विशेष महाधिवेशनको हस्ताक्षर रोक्न आह्वान गरेका छन् ।
उनीहरूले अहिलेको कठिन अवस्थामा पार्टीको एकता जोगाउन आवश्यक रहेको समेत बताएका छन् ।
सभापति शेरबहादुर देउवाले नियमित महाधिवेशनमा सभापति नलड्ने भनेको र विधानअनुसार पनि सभापति लड्न नमिल्ने अवस्थामा विशेष महाधिवेशन माग गर्नु पार्टी हित विपरीत हुने नेताहरू बताउँछन् ।
पार्टीभित्र अल्पमत, बहुमत जस्ता विषय सिर्जना गरी कार्यकर्तामा भ्रम छर्ने कार्य रोक्न समेत सुदूरपश्चिमका नेताहरूले आह्वान गरेका छन् ।