काठमाडौं । कामना सेवा विकास बैंक र यूनिभर्सल पावरको सेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज ८ गते एक दिनका लागि बुक क्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्जले कामना सेवा विकास बैंकको १० प्रतिशत र यूनिभर्सल पावर कम्पनीको ९ प्रतिशत बोनस सेयरमूल्यमा समायोजन गरेको हो ।
समायोजनपश्चात कामनाको सेयर मूल्य ४७७.७३ रुपैयाँ र यूनिभर्सल पावरको ३८०.२८ रुपैयाँ कायम भएको छ । यहि मूल्यमा नै सेयर कारोबार खुल्नेछ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा सेयर मूल्य समायोजन गरेको हो । अघिल्लो दिन अर्थात मंगलबार कामनाको सेयर मूल्य प्रतिकित्ता ५२५.५० रुपैयाँ र यूनिभर्सलको ४१४.५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार रुपैयाँको १० प्रतिशतका दरले ३५ करोड १० लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.७८ प्रतिशतका दरले २० करोड ३२ लाख ६० हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले असोज २४ गते काठमाडौंमा बिहान ११ बजे १९ औँ वार्षिक साधारण सभा डाकेको छ ।
यस्तै, यूनिभर्सल पावर कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज २३ गते बिहान १० बजे ललितपुरमा वार्षिक साधारण सभा बोलाएको छ ।