काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार सम्पन्न उक्त भेटवार्तामा राजदूत फेनले नवनियुक्त मन्त्री घिसिङलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
भेटमा नेपाल–बेलायतबीचको दीर्घकालीन मित्रता, ऊर्जा र पूर्वाधार क्षेत्रमा सम्भावित सहकार्य, जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय र दिगो विकासका विषयमा गहन छलफल भएको थियो ।
मन्त्री घिसिङले जेनजी आन्दोलनपछिको नयाँ सरकारको मुख्य प्राथमिकता जनताको जीवनस्तर सुधार, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, आगामी निर्वाचन र सुशासन रहेको उल्लेख गरे ।
उनले बेलायतले विगतदेखि नै नेपालमा गर्दै आएको सहयोगप्रति आभार प्रकट गर्दै विद्युतीय सवारीसाधन प्रवर्द्धनका लागि चार्जिङ स्टेसन निर्माणमा बेलायतको सहयोग प्रभावकारी भएको बताए ।
त्यसैगरी, घिसिङले सार्वजनिक–निजी साझेदारी मोडेलमार्फत पूर्वाधार विकास गर्न बेलायतसँगको सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए ।
साथै ग्रिन हाइड्रोजन प्रविधि, जलवायु परिवर्तनका कारण उत्पन्न हिमताल विस्फोटको सम्भावित जोखिम मूल्याङ्कनजस्ता क्षेत्रमा प्राविधिक र वित्तीय सहयोगको अपेक्षा पनि व्यक्त गरे ।
राजदूत फेनले नेपाललाई बेलायतको पुरानो र विश्वासिलो मित्र राष्ट्रको रूपमा उल्लेख गर्दै नेपालको समृद्धि र आर्थिक रुपान्तरणमा बेलायत सदैव सहकार्य गर्न तयार रहेको धारणा राखे ।
‘नेपालको सफलता नै बेलायतको सफलता हो,’ फेनले भने । यो भेटवार्ताले दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।