काठमाडौं । जेनजी आन्दोलनका कारण मनोबल खस्किएको उद्योगी व्यवसायीहरूले बताएका छन् । आन्दोलनले निजी र सार्वजनिक संरचनाहरू ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको उनीहरूको भनाइ छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डे जेनजी आन्दोलनका कारण कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ५ प्रतिशत नोक्सान भएको दाबी गरे ।
‘उद्योगहरूमा कुल जीडीपीको ५ प्रतिशत असर पुगेको छ, लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्वपूर्ण कुरा हो, लगानीकर्तालाई सुरक्षा दिनका लागि सरकारले काम गर्नुपर्छ । अब छिट्टै माथि उठ्नका लागि वित्त र मौद्रिक नीतिबाट के-कस्तो सुविधा दिन सकिन्छ, सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक छ,’ उनले भने ।
अब अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नु पर्ने उनको धारणा छ । ठूला उद्योगका लागि एउटा निश्चित समय निर्धारण तोकेर सहुलियत दिनुनपर्ने उनको माग छ । शिक्षा प्रणालीलाई पनि सुधार गर्नु आवश्यक देखिएको उनले बताए । शिक्षामा लगानी बढेको भएपनि प्रतिफल भने कम रहेको उनले बताए ।
उनले केही समयअघि ज्वाइन्ट भेन्चरको लगानी आउन लागेको जानकारी दिँदै जेनजी आन्दोलनका कारण त्यो लगानी रोकिएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले जेनजी आन्दोलनका कारण सार्वजनिक र निजी क्षेत्रको ठूल्ठूलो संरचना क्षति हुँदा अर्थतन्त्रमै ठूलो धक्का पुगेको बताए । जेनजी आन्दोलनले लगानीकर्तालाई निरुत्साहित गर्ने काम गरेको उनको भनाइ छ । केही समयअघि अर्थतन्त्रको वृद्धि दर राम्रै भए पनि त्यसलाई निरन्तरता दिन नसकेको ढकालले बताए ।
‘अहिले हामी खरानी टकटक्याएर अगाडि त बढौँला तर फेरि यस्तै विध्वंश नहोला भन्ने के ग्यारेन्टी छ । फेरि यस्तै विध्वंश भयो भने के गर्ने ? सरकारले हामीलाई सुरक्षाको ग्यारेन्टी गर्न सक्नुपर्छ,’ उनले भने, ‘हामी अहिले लडेको अवस्था छ, हामी अब उठ्नका लागि सरकारले विभिन्न नीतिहरू ल्याउनुपर्छ ।’
नेपाल चेम्बर्स अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था आएको बताए । जेनजी आन्दोलनपछि अहिले प्रमुख चुनौती शान्ति सुरक्षाको रहेकाले सरकारले व्यवसायीहरूलाई डराउनु पर्दैन भन्ने किसिमको सुरक्षा प्रत्याभूति दिलाउनुपर्ने उनको भनाइ छ ।
सरकारी कार्यालयमा एकदमै ढिला सुस्ती र झन्झटिलो प्रकृयाका कारण दुःख पाइरहेको बताउँदै त्यसको अन्त्य गरेर चुस्त सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए । निजी क्षेत्रको धनजनको क्षति हुँदा देश ५/६ वर्ष पछाडि धकेलिएको उनको दाबी छ ।
‘अहिले सरकारी अफिसमा ढिला सुस्ती र झन्झटिलो प्रक्रिया छ । जसले गर्दा सेवा लिन निकै समस्या हुन्छ । यसलाई सुधार गर्नुपर्छ,’ उनले भने ।
उनले अहिले आईटी र एआईको प्रचुर सम्भावना रहेको बताउँदै गाउँको दूर दराजमा आईटी कार्यक्रम चलाउन सकेमा प्रभावकारी हुने बताए ।
नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले दशैं-तिहार लगायत चाडपर्वमा हुने गाडीको व्यापार बढाउन तत्काल ऋणसम्बन्धी नीतिमा फेरबदल गर्न आग्रह गरे । आन्दोलनका कारण सवारी साधन बिक्रीमा कमी आएकाले राजस्व संकलन पनि घट्ने उनको भनाइ छ ।
‘अटो क्षेत्रको सबैभन्दा बढी राजस्वमा योगदान छ । दशैंको समयमा कुल अटो बजारको ६० प्रतिशत विक्री हुने गरेकोमा आन्दोलनले घटेको छ । जसले गर्दा राजस्व पनि घट्छ । अहिलेको सबैभन्दा ठूलो चुनौती राजस्व संकलन देख्छु,’ अध्यक्ष चौधरी भन्छन्, ‘गाडी खरिद गर्ने सोचमा भएका ग्राहक अब आफ्ना अनिवार्य खर्चको लागि सञ्चित गर्छ । राष्ट्र बैंकले ‘लोन टु भ्यालु रेसियो’को नीतिमा तत्काल परिवर्तन गरी गाडी खरिद गर्ने वातावरण बनाउनु पर्नेछ ।’
आन्दोलनका कारण अटो हब रहेको थापाथली पूर्ण रूपमा क्षति भएको बताउँदै उनले उत्तरी नाकाबाट आउने केरुङ र तातोपानी नाकाबाट गाडी ल्याउन नसकिने अवस्था रहेको जानकारी दिए ।
‘कोरला नाकाबाट केही गाडी आएका छन् तर पानी पर्ने बित्तिकै रोकिन्छ । सडकको अवस्था सुधार गर्न सरकार गम्भीर हुनुपर्छ,’ अध्यक्ष चौधरीले भने ।
ट्रेकिङ एजेन्जिस् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे जेनजी आन्दोलन निजी क्षेत्र लक्षित समेत भएको बताउँदै निजी क्षेत्र पनि सच्चिनुपर्ने बताउँछन् । जेनजी आन्दोलनका कारण शिथिल बनेको पर्यटन क्षेत्रको रिकभरका लागि सबैभन्दा पहिला पर्यटकीय गतिविधि बढाउन सरकारले ‘रिकभरी प्लान’ बनाएर अघि बढ्नुपर्ने बताए ।
‘भ्रष्टाचारका विरुद्धमा भएको जेनजी आन्दोलनमा निजी क्षेत्रको नेक्सस कति छ ? समाजले यो माग गरिरहेको छ । हाम्रो ठाउँबाट पनि सच्चिनु जरुरी छ । आन्दोलनको प्याटर्न हेर्दा त्यो आभास पाउँछौं,’ अध्यक्ष पाण्डेले भने ।
नेपालमा बीएचएम गरेका युवाले १७ हजारको जागिर खानुपर्ने अवस्थाका कारण युवाहरू विदेशिने गरेको उनको भनाइ छ ।
‘नेपालमा जब भएन भन्छौं, क्वालिटी जब भएन । बीएचएम गरेको भाई बहिनीलाई १७ हजारमा काममा लगाइरहेका हुन्छौं । यस्तो अवस्थामा युवाहरू नेपालमा बस्न सक्दैन,’ अध्यक्ष पाण्डेले भने, ‘१७ हजारमा नबिकेका भाईबहिनीहरु कतार, मलेसियामा जान्छन् । नेपालको आर्थिक विकासको प्रमुख समस्या हो ।’
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जेनजी आन्दोलनको कारण समस्यामा परेका उद्योगीलाई रिफाइनान्सिङको व्यवस्था मिलाउनु पर्ने बताए । अहिलेको समस्या भूकम्प र कोभिड–१९ को भन्दा फरक भएकोले यसलाई प्राथमिकतामा राखेर हेर्न उनले आग्रह गरे ।