बाल यौन दुराचार र जवरजस्ती करणी मुद्दामा फरार दुई अमेरिकी नागरिक पक्राउ

काठमाडाैं ।  कारागारबाट फरार भएका दुई अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार जिल्ला अदालत कास्कीको आदेशमा बाल यौन दुराचार मुद्दामा सजाय भोगिरहेका अमेरिकी नागरिक माइकल नर्मन टेलर र जिल्ला अदालत काठमाडौंको आदेशमा जगन्नाथ देवल कारागारमा जवरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका अमेरिकी नागरिक जेसन लोयड मोडी पक्राउ परेका हुन् ।

दुवै जना गत भदौ २४ गते फरार भएका थिए ।

विशेष सूचनाको आधारमा सीआईबीको टोलीले असोज ६ गते काठमाडौं महानगरपालिका–३ महाराजगन्जबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ । 

पक्राउ परेका दुवैलाई कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागार बुझाउने कार्य भइरहेको सीआईबीले जनाएको छ ।

सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार दुवै प्रतिवादीलाई सुरक्षित रूपमा कारागार पुर्याउने तयारी भइरहेको छ ।

Share News