काठमाडौं । तीनवटा मन्त्रालयको जिम्मेवारी पाएका नवनियुक्त मन्त्री अनीलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन् ।
सोमबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका मन्त्री सिन्हाले सिंहदरबारस्थित उद्योग मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
सिन्हाले सहिद परिवार र घाइतेलाई रोजगारीको व्यवस्था गरिने पहिलो निर्णय गरेका छन् । यस्तै, सरकारी निकामा फर्निचर लगायत निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने निर्णय गरेका छन् ।
मन्त्री सिन्हालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
को हुन् सिन्हा ?
सिन्हा सर्वोच्च अदालतमा पूर्वन्यायाधीश हुन् । १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका उनी ६५ वर्षे उमेरहदका कारण १४ कात्तिक २०८० मा निवृत्त भएका थिए ।
नेपाल ल क्याम्पसबाट २०३९ सालमा स्नातक उत्तीर्ण गरेपछि आफ्नो सम्पूर्ण करिअर वकालत पेशामा लगाएका सिन्हा सर्वोच्च अदालतका न्यायाधीश नियुक्त हुनुअघि वरिष्ठ अधिवक्ताका रूपमा खासगरी कर र कर्पोरेट क्षेत्रका विशेषज्ञ वकिल थिए ।
सर्वोच्च अदालतमा सात वर्ष न्यायाधीश रहँदा उनले मूलतः संवैधानिक, फौजदारी र वाणिज्य सम्बन्धी मुद्दा निरुपणमा महत्वपूर्ण योगदान दिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी विवाद, प्रतिनिधिसभाको पहिलो विघटन, कर फर्स्यौट आयोग सम्बन्धी विवाद निरुपणमा उनको योगदान महत्वपूर्ण मानिन्छ ।
ललितानिवास जग्गा प्रकरणको मुद्दामा मन्त्रिपरिषद्को निर्णयमाथि पनि अनुसन्धान गर्न सकिने फैसला उनीसहितको इजलासले गरेको थियो ।