अर्थमन्त्री खनाल र आईएमएफका सर्वतबीच भर्चुअल छलफल, नयाँ सरकारसँग मिलेर काम गर्न तयार

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपाल मिशन प्रमुख जहान सर्वतबीच सोमबार भर्चुअल बैठक सम्पन्न भएको छ ।

उक्त बैठकमा मिशन प्रमुख सर्वतले हालै नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्न सक्ने प्रभाव र आर्थिक सुधारका कार्यक्रमहरुको निरन्तरताका विषयमा छलफल गरेका थिए ।

अर्थमन्त्री खनालले विशिष्ट परिस्थिति बीच गठन भएको वर्तमान सरकारको मुख्य कार्य जिम्मेवारी प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु रहेको बताउँदै हालै जेन्जी युवाहरूको नेतृत्वमा भएको प्रदर्शनमा उठेका सुशासन र स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा सरकार कटिबद्ध रहेको जानकारी दिए ।

उनले आईएमएफको सुझावमा कार्यान्वयनमा रहेका आर्थिक सुधार कार्यक्रमलाई थप तीव्रता दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

साथै आईएमएफको सहयोगमा कार्यान्वयन भइरहेको दीर्घकालीन ऋण सुविधाको छैटौं समीक्षा प्रतिवेदन छिट्टै आईएमएफ बोर्डमा पेश गरिने विषयमा छलफल भएको छ।

आईएमएफ मिशन प्रमुख सर्वतले नेपालमा आर्थिक सुधारका कार्यक्रममा नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको जानकारी दिए ।

बैठकमा आईएमएफका नेपालस्थित आवासीय प्रतिनिधि प्रणव गुप्ताको समेत उपस्थिति रहेको थियो ।

Share News