जेनजी समूहसँग सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार रोकियो

आन्दोलनरत समूह एक मत हुन नसक्दा मन्त्रिपरिषद अधुरै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले आइतबार पनि पूर्णता नपाउने भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी थिइन् । 

तर मन्त्रीहरूको नाममा आन्दोलनरत समूह एक मत हुन नसक्दा कार्की मन्त्रिपरिषदले आज पनि पूर्णता पाउन नसकेको हो ।

प्रधानमन्त्रीले केही विज्ञ र केही जेनजी समूहबाट सिफारिस भएका समेत समेटेर आफ्नो ४ सदस्यीय मन्त्री परिषदलाई पूर्णता दिने तयारी गरेको बुझिएको थियो । तर प्रधानमन्त्री कार्की र जेनजी आन्दोलनकारी समूहबीच व्यक्ति र मन्त्रालयमा कुरा नमिलेपछि आज पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार राष्ट्रपति कार्यालयका उच्च पदस्थ अधिकारीहरू पनि कार्यालयबाट बाहिरिइसकेका छन् । कार्यालयका प्रवक्ता प्रदीप कोइरालाले पनि आज शपथको कुनै कार्यक्रम नरहेको पुष्टि गरे ।

कार्यालयका सूचना अधिकारी अर्चना खड्काले पनि आफूसहित सबै कर्मचारी बाहिरिइसकेको जानकारी दिइन् ।

Share News