पुस्कर कोइराला
गत २३ गतेको जेनजी प्रदर्शनमा क्रममा राज्यले गरेको दमनको प्रतिकार स्वरूप २४ गते देशभर आगजनी भयो । प्रदर्शनकारीहरूले देशभरिका विभिन्न सरकारी कार्यालयहरूसँगै विभिन्न अदालत समेत आगजनीमा परे । देशभरका ७७ वटा जिल्ला अदालतमध्ये १० अदालतहरू आगजनी भएका छन् । यसरी आगजनी भएका अदालतको विश्लेषण गर्दा एउटा तथ्यमा विचार गर्नुपर्ने देखिन्छ ।
अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सहकारी ठगी सम्बन्धी मुद्दा ५ जिल्ला अदालतमा चलिरहेका थिए । ती अदालतहरूमा काठमाडौं, चितवन, कास्की, रुपन्देही र पर्सा जिल्ला अदालत थिए । १० अदालत जल्दा लामिछाने विरुद्ध मुद्दा चलिरहेका सबै अदालत जलेका छन् । अब लामिछानेको सहकारी ठगी मुद्दा रहेर पनि जल्न बाँकी जिल्ला अदालत छैनन् ।
उनको मुद्दा नभएका केही थप अदालतहरूमा मात्र आगजनी भएका देखिन्छ । यसले रवि लामिछानेका विचाराधीन मुद्दा भएका ५ वटै अदालतहरू कसरी जले ? के त्यो संयोग मात्र थियो वा नियोजित थियो ? १० जलेका अदालतहरूमा रवि लामिछानेका मुद्दा रहेको १०० प्रतिशत अदालत कसरी कसरी परे भन्ने प्रश्न उठाउँछ ।
यस्तो घटना पूर्णत संयोगवश भएको मान्नेहरू पनि छन् । यस्तो संयोगको सम्भावना कति हुन्छ ? तथ्यगत विश्लेषण गर्नु उपयुक्त हुन्छ ।
यो घटनाको विश्लेषणका लागि हाइपरज्यामितीय सम्भाव्यता मोडेल उपयुक्त छ । किनभने देशभर अदालतहरूको कुल संख्या सीमित छ, ७७ वटा । 'सफलता’ अर्थात् रवि लामिछानेका मुद्दा भएका अदालतहरूको संख्या निश्चित छ, ५ वटा । जलाइएका अदालतहरूको नमूना (१० वटा) कुल संख्याबाट छनोट गरिएको हो र एउटै अदालत दोहोर्याएर जलाउन सकिँदैन । हामीले यही नमूना भित्र सबै ५ वटा “सफलता“ पर्ने सम्भावना खोजिरहेका छौं ।
सजिलोसँग बुझ्न अर्को एक उदाहरणलाई हेरौं ।
मानौं एउटा भाँडोमा जम्मा ७७ वटा बल छन् । ती मध्ये ५ वटा रातो बल छन् (रवि लमिछानेका मुद्दा भएका अदालत) । बाँकी ७२ वटा सेता बल छन् (रवि लमिछानेका मुद्दा नभएका अदालत) । अब आँखामा पट्टि बाँधेर भाँडोबाट १० वटा बल निकाल्न भनियो (१० अदालत जलाइयो) । त्यो ७७ बटा बलको पोकोबाट १० बटा बल निकाल्दा के सबै ५ वटा रातो बल (लमिछानेको मुद्दा भएका अदालत अदालत) पनि निस्कन्छन् ?
अंकगणितले यसो भन्छ ।
यदि ७७ वटा अदालतहरूमध्ये १० वटा अदालतहरू अनियमित रूपमा जलाइएको भए, रवि लामिछानेका मुद्दा भएका सबै ५ वटै अदालतहरू ती जलेका १० अदालतभित्र पर्ने सम्भावना कति थियो ? यस्तो अवस्थामा सामान्य गणितीय हिसाबले हाइपरज्यामितीय सम्भाव्यता गणना गर्दा यस्तो घटनामा यस्तो संयोग पर्ने सम्भावना ०.००००७८ प्रतिशत हुन आउने रहेछ । अर्थात १२ लाख ८० हजार मध्ये १ अर्थात शून्य बराबर ।
गणनाले देखाएको अत्यन्त न्यून सम्भावना (करिब १२ लाख ८० हजार मा १ पटक मात्र) ले यो प्रष्ट बनाउँछ कि ७७ वटा जिल्ला अदालतमध्ये जलेका १० अदालत संयोगवश मात्र छानिएको भए, सबै ५ वटा रवि लमिछाने सम्बन्धित अदालत जल्ने घटना पर्न असम्भव थियो । हाइपरज्यामितीय विश्लेषणले यो देखाउँछ कि रवि लामिछानेका सबै ५ वटै मुद्दा भएका अदालतहरू संयोगवश जल्ने सम्भावना अत्यन्तै न्यून छ । यद्यपि गणितले संयोगलाई पूर्णरूपमा नकार्दैन ।
यद्यपि तथ्याङ्कीय असम्भाव्यताले मात्र जानाजानी निशाना बनाइएको प्रमाणित गर्न सक्दैन । यो एक सामान्य अंकगणितबाट देखिएको असामान्य नतिजा मात्र हो । गणितीय रुपमा असम्भव जस्तै देखिएको यस्तो घटना कतै योजनाबद्ध ढंगले वा लक्षित उद्देश्यका कारण भएको त हैन ? यसबारे थप अनुसन्धान हुन आवश्यक देखिन्छ ।